
पोखरा भ्यूज
पोखरा । मानवीय सेवाका कार्यमा प्रतिबद्व नेपालका लायन्स डिष्ट्रिक्टहरू लायन्स अन्तर्राष्ट्रियमा शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । जुलाई १ बाट कार्यकाल सुरू भएको १० दिन भित्र लायन्स अन्तर्राष्ट्रियमा सबैभन्दा बढी नयाँ क्लब लायन्स चार्टर्ड गर्ने ५ वटा डिष्ट्रिक्ट नेपालका रहेका छन ।
लायन्स अन्तर्राष्ट्रियमा आवद्व २१० राष्ट्रका करिव ८०० डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालले पुन: सर्वाधिक धेरै क्लब, ३५+१ वटा नयाँ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टर्ड गर्न सफल भई प्रथम स्थानमा प्राप्त गरेको छ । लायन बर्ष २०२२/२३ मा पनि डिष्ट्रिक्ट ३२५ आई नेपाल प्रथम स्थान मै रहेको थियो ।
त्यस्तै, दोस्रोमा डिष्ट्रिक्ट ३२५ एल बाट ३० क्लब, तेस्रोमा ३२५ जे बाट २३ क्लब, ३२५ के बाट १५ र डिष्ट्रिक्ट ३२५ जी बाट १४ क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टड भई शीर्ष ५ भित्र पर्न सफल भएका हुन् ।
नेपालमा रहेका १५ वटा डिष्ट्रिक्ट मध्ये डिष्ट्रिक्ट ३२५ आई नेपालमा चन्द्रकुमार केसी डिष्ट्रिक्ट गभर्नर हुनुहुन्छ । यसैगरी, ३२५ एल मा परमेश्वर बराल, ३२५ जे मा हरिप्रसाद मरहट्टा, ३२५ के मा सुचित्रा थापा र ३२५ जी मा दीपक कुमार प्रजापति डिष्ट्रिक्ट गभर्नर रहनु भएको छ । यि मध्ये डिष्ट्रिक्ट आई, जे, के र एल साविक लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालको दशौं महाधिबेशन पश्चात डिष्ट्रिक्ट बाईफर्गेसन पछि बनेका डिष्ट्रिक्ट हुन् ।
बिश्वका २१० मुलुकमा संगठन बिस्तार गरिसकेको विश्वको सबैभन्दा ठूलो सामाजीक संस्थाको रुपमा स्थापित लायन्सका संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन् । उनले सन १९१७ मा अमेरिकाको सिकागो शहरबाट लायन्स अभियान सुरुवात गरेका थिए । नेपालमा पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन् १९७१ मा आफनै अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरी नेपालमा लायनवादको विस्तार गरेका थिए । निस्वार्थ मानबिय सेवा गर्ने उद्देश्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्थामा विश्वभर १४ लाख बढी र नेपालमा पचास हजार बढ़ी लायन्स सदस्यहरु आवद्व रहेका छन् ।
डिष्ट्रिक्ट पुन: पहिलो स्थानमा रहन सफल भएपछि प्रतिक्रिया दिदै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले कार्यकाल सुरु गरेको १० दिन भित्र मै नयाँ लायन्स क्लब लायन्स अन्तर्राष्ट्रियमा चार्टड गरेर विश्व रेकर्ड कायम गरेकोमा गर्व महशुष गर्दै यस अभियानमा डिष्ट्रिक्टका अग्रज लायन्स लिडरको सहयोग र साथ, मेरो क्याविनेट टिम, क्लब अध्यक्ष लगायत सम्पूर्ण लायन सदस्यको योगदानबाट नै सम्भव भएको बताउनु भयो ।











