जयनगर-बिजलपुरा-बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था-बिजलपुरा रेल खण्डको सञ्चालन
- July 16, 2023
- 1107

पोखरा भ्यूज
काठमांडौं । जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग अन्तर्गतको कुर्था–बिजलपुरा रेल खण्डको उद्घाटन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आइतवार आयोजित एक समारोह उक्त रेलखण्डको उद्घाटन गर्नु भएको छ । उद्घाटन समारोहमा भारतीयराज दूतावास नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, मधेस प्रदेशका राजनीतिक नेता, नेपाल सरकारका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत महिना सम्पन्न भारत भ्रमणका क्रममा नेपाल सरकारलाई यो खण्ड हस्तान्तरण गरिएको थियो । कूल १७.३ किलोमिटर लम्बाई रहेको यस कुर्था–बिजलपुरा खण्डमा कुर्था, पिपराडी, लोहारपट्टी, सिंग्याही र बिजलपुरा गरी ५ वटा स्टेसनहरु रहेका छन् । भारतिय रूपैया ७८३.८३ करोड लागतमा भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण गरिएको यो खण्ड जयनगर–बिजलपुरा–बर्दिवास अन्तरदेशीय रेलमार्ग परियोजनाको दोस्रो चरण रहेको भारतिय राजदुतावासबाट जारी गरिएको बिज्ञप्तिमा जनाईएको छ । जयनगरदेखि कुर्थासम्मको पहिलो चरणको गत वर्ष अप्रिलमा उद्घाटन भई त्यसयता सञ्चालनमा रहेको र बिजलपुरादेखि बर्दिवास जोड्ने तेस्रो चरणका लागि हाल जग्गाअधिग्रहणको काम भइरहेको दुतावासले जनाएको छ ।
समारोहमा बोल्दै मन्त्री ज्वालाले रेल क्षेत्र सहित नेपालका पूर्वाधारको विकासमा भारत सरकारको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्नुभयो । वहाँले यस रेल कनेक्टिभिटीले दुई देशका जनताबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै यसले नेपालको व्यापार र पर्यटन प्रवर्धन गर्न मद्दत गर्ने बताउनुभयो ।
नियोग उप–प्रमुख श्रीवास्तवले दुवै देशका जनताको फाइदाका लागि दुई देशबीच कायम विकास साझेदारीलाई थप बलियो बनाउन भारत सरकार सदैव प्रतिबद्घ रहेको बताउनुभयो ।
यस परियोजनाको कार्यान्वयनले नेपालका नयाँ क्षेत्रमा भरपर्दो, किफायती र द्रुत यातायातको व्यवस्था हुनेछ । परियोजना हाल भारतद्वारा नेपालमा कार्यान्वयन भइरहेका कैयौं कनेक्टिभिटी परियोजनाहरुकै एक भागरहेको र यसले भारत र नेपालबीचको भौतिक सम्पर्कलाई थप अभिवृद्धि गर्नेछ, जुन भारत सरकारको छिमेकी पहिलो नीतिको महत्वपूर्ण अंश रहेको जनाईएको छ ।







सम्बन्धित खवर

















