
पोखरा भ्यूज
पोखरा । नेपाल पिछडा वर्ग (ओबिसी) महासंघ कास्कीको दोस्रो अधिवेशनले रामनाथ ठाकुर अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष जालन्धर राउट कुर्मी, सचिवमा आदेश ठाकुर र कोषाध्यक्षमा सन्तोष ठाकुरलाई सर्वसम्मत चयन गरेको छ । यसैगरी कार्यसमिति सदस्यमा क्रमशः राम जुलुम शर्मा, चन्दनकुमार ठाकुर, प्रभु शर्मा लोहार, कमरूलाह देवान, जुनैद देवान, उपेन्द्र ठाकुर सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले जानकारी दिए । मुरारी शर्मा संयोजक रहेको निर्वाचन समितिमा घनश्याम रेग्मी र बलिराम ठाकुर सदस्य रहेका थिए ।

यस अघि बलिराम ठाकुरको अध्यक्षता गण्डकी प्रदेश सभा सदस्य प्रकाश वरालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि बरालले आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रूपमा पछाडि परेका तथा दलित र आदिवासी जनजातिमा समेत नपरेका पिछडा वर्गको लागि आफू जुन सुकै ठाउँमा पनि उनीहरूको हक अधिकार प्राप्तिका लागि लडिरहने र सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि पिछडा वर्ग महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र ठाकुरले पिछडा वर्गका लागि छुट्टै क्लस्टर कायम गरी आरक्षण व्यवस्था लागू हुनु पर्ने बताए । तराई–मधेसका समुदायले पिछडा वर्गमा सूचीकृत गर्न लामो समयदेखि माग गर्दै आए पनि आधिकारिक अध्ययन, अनुसन्धानको अभावमा अझै पनि हुन नसकेको उनको भनाई थियो । उनले भने-‘पहाड र मधेसमा जात र थरबारे बुझाइ फरक छ, पिछडा वर्गको जातमा जुन राखिएको छ, ती जातहरूमा बुझाइमा फरक छ, मधेस र पहाडमा,पहाडतिर थर भन्ने बित्तिकै जात भन्ने बुझिन्छ तर मधेसमा त्यसरी नबुझिने उनको भनाई थियो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाल नाई संघका जिल्ला अध्यक्ष विगुलाल ठाकुरले समावेशिताका लागि राज्यले प्रशासनिक, सुरक्षा, न्याय सेवालगायत क्षेत्रमा हुने नियुक्ति र सेवा प्रवेशमा पिछड़ा वर्गलाई आरक्षणको व्यवस्था हुनुपर्ने भनाई राखेका थिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष घनश्याम रेग्मीले पिछडा वर्गको पहिचान भाषा, संस्कृति परम्पराको संरक्षण साथै राजनितीक आर्थिक शैक्षिक उन्नती प्रगती कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण समेत दिएका थिए ।







सम्बन्धित खवर
















