21Shares

पोखरा भ्यूज
पोखरा, २ साउन । आधुनिक पोखराका अभियन्ता रुद्रबहादुर कार्कीको ९९ औं जन्मदिनको छेको पारेर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङले ‘रुद्रबहादुर कार्की स्मृतिग्रन्थ’ विमोचन गरे ।
प्रमुख अतिथि डा. जगमान गुरुङले ‘अंशको कुरा वंशलाई जातको कुरा भताहलाई’ जस्तै आफूले वि.सं.२०१८ सालदेखिको पोखरा र यहाँका रैथानेलाई नियाल्न पाएको स्मरण गर्दै कार्कीले दिएको योगदानको चर्चा गरे । डा.गुरुङले भने ‘आजको पोखराको जग रुद्रबहादुर कार्कीले २० को दशकमै कोरेका कारण पोखरा सहरोन्मुख भएको हो । कार्कीले पथ प्रदर्शन गरेको मार्गलाई सन्ततिले अग्रजको योगदानलाई अभिलेखीकरण गर्नु स्तुत्य भएको जनाए ।
कार्यक्रममा जोर्ज जोन, डा. अनिल सुवेदी, विश्वमोहन गौचन, बद्रविनोद प्रतीक, हरिदेवी कोइरालाले कार्कीसँगको सङ्गत र व्यक्तित्वमाथि आआफ्ना विचार राख्दै पोखराका लागि कार्की गर्व गर्न लायक र अनुकरणीय व्यक्तित्व भएको बताए । वक्ताहरूले तत्कालीन अञ्चलाधीश शंकरराज पाठक र पदमबहादुर खत्रीले जस्तै पोखरालाई पोखरा बनाउन १८ जना प्रधानपञ्च मध्ये कार्कीले उल्लेखनीय भूमिका खेलको स्मरण गरे ।
स्मृतिग्रन्थमा समेटिएका आलेखहरूको समीक्षा गर्दै प्राडा ज्ञानबहादुर कार्कीले तत्कालीन पोखराको बाटो चाक्लो बनाउने, नयाँशिक्षा लागु गर्ने, कृषि उत्पादन बढाउन रवी बाली लगाउने, हेरालो र काञ्जी हाउसको व्यवस्था गर्ने, खानेपानीका धारा जोड्ने, खोला नियन्त्रण र बाँध बनाउने, प्रशासनिक संरचना बनाउने, अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क लगायत विकास निर्माणका कामको खाका तयार गर्ने, आधुनिक पोखराको जग हाल्ने काममा कार्कीले विशिष्ट योगदान दिएको चर्चा गरे ।
रुद्रबहादुर कार्की स्मृतिग्रन्थ प्रकाशन समितिद्वारा आयोजित कार्यक्रममा वि.सं. २०२८ देखि २०३१ सम्म पोखरा नगर पञ्चायतका प्रधानपञ्च भएका कार्कीको राजनीतिक जीवन, उनले आधुनिक पोखरा बनाउन गरेको पहल र विकासका क्षेत्रमा पुर्‍याएको योगदानसम्बन्धी लेखिएका आलेख, अभिलेख र संस्मरणहरू समावेश गरिएको छ ।
२ सय ६० पृष्ठमा संरचित स्मृतिग्रन्थको सम्पादन प्राडा कृष्ण के.सी., प्राडा दिलबहादुर क्षत्री र उपप्राध्यापक सुरेश रानाभाटले गरेका थिए भने आवरण विम्बकवि प्राज्ञ रमेश श्रेष्ठले तयार गरेका थिए ।
कार्कीको जन्म वि.सं. १९८१ असार २९ गते र मृत्यु वि.सं. २०७८ चैत्र ७ गते भएको थियो । स्मृतिग्रन्थ प्रकाशन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यकक्रमा अश्विन कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन दीपेन्द्र श्रेष्ठले गरेका थिए ।

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected