0Shares

पोखरा, ६ असोज । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय विरोधको नाममा विरोध गर्ने प्रवृत्ति बढेको गुनाासो गरेका छन् । महानगरले केही रणनीतिक महत्वका परियोजनाहरु सुरु गरे पनि केही व्यक्ति र समूहले कुरै नबुझी विरोध गरेको जिकिर पनि गरे ।

नगर प्रमुख आचार्य शनिबार पोखरा उद्योग वाणिज्य संघको ६९ औं वार्षिक अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै थिए । प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख आचार्यले वर्तमान समयमा निजी क्षेत्र विभिन्न कारणले आक्रान्त रहेको स्वीकार्दै सहर चलायमान नहुँदा सवै तहका सरकार पनि चलायमान नभएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जोखिम मोलेर व्यवसायमा होमिएका उद्योगी/व्यवसायीहरुलाई राज्यले उचित संरक्षण गर्न नसकेको र यसमा निजी क्षेत्रसमेत दोषी भएको बताए ।
नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा कृषि उद्यम समिति संयोजक डीबी बस्नेतले राज्यले उत्पादकत्व बढाउने खालका योजना अगाडि नसारेको गुनासो गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर सरकारले नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले निजी क्षेत्र अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेको र समस्या समाधानको लागि छाता संस्थाले उदासिनता देखाएको आरोप लगाए ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले राज्य भन्सारबाट उठ्ने विभिन्न खालको कर उठाउनमात्र उद्यत रहेको आरोप लगाए ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चिता,व्यवस्थित सहरीकरण र पूर्वाधार निर्माण,पोखराको अन्तर्राष्ट्रिय प्रचार, औद्योगिक क्षेत्रको स्थापना,कोरोला-त्रिवेणी तथा मध्यपहाडी राजमार्गबाट समुचित लाभ लिने अवस्थाको सिर्जना हुनुपर्ने बताए ।
‘कोभिड १९ पछि ओरालो लागेको पोखराको पर्यटन उद्योगले अझै गति लिन सकेको छैन । मुख्य पर्यटकीय सिजनमा पनि पोखरा सुनसानजस्तै छ । यसले हामीलाई निराश बनाएको छ,’ उनले थपे ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकणर् कार्कीले धन्यवाद ज्ञापनको क्रममा व्यवसायीहरुको धैर्यता गुमाउने अवस्था सिर्जना भएको बताउँदै सरकारले सडकमा ल्याउन बाध्य नपारोस् भने ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखराको संचार क्षेत्र निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र निजी क्षेत्रका समस्याहरु मुखरित गरिरहेको बताइन् ।
पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यमनाथ पौडेलले व्यवसाय मैत्री वातावरण निर्माण नहुँदा मुख्य सहरी क्षेत्रमै सटरहरु खाली हुने अवस्था सिर्जना भएको बताए ।
पोउवा संघका महासचिव बलराम आचार्यले कार्यक्रम संचालनकै दौरान पोखराको समग्र आर्थिक र सामाजिक विकासमा निजी क्षेत्रको भूमिकाबारे चर्चा गरे ।
पोखराको पुरानो सामाजिक संस्थाको रुपमासमेत क्रियाशिल संघको ६९ औं वार्षिक अधिवेशनले महासचिव बलराम आचार्य र कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै पोउवा संघ र पृथ्वी राजमार्ग बस संचालक कम्पनीबीच संघका सदस्यहरुलाई सो कम्पनीको बसमा यात्रा गर्दा १५ प्रतिशत भाडा छुट शनिबारबाटै कार्यान्वनयमा आएको घोषणा पनि गरिएको छ । पुृथ्वीले हाल पोखराबाट देशका ६५ जिल्लामा बस सेवा संचालन गरिरहेको छ ।

पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार मिश्रलाई
पोखरा उद्योेग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार वाशुदेव मिश्र पुरस्कृत भएका छन् । पोखरालाई कर्मक्षेत्र बनाइ विगत २४ वर्षदेखि निरन्तर कार्यरत मिश्रलाई संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ संयोजक रहेको छनोट समितिले आर्थिक पत्रकाििरतामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निणर्य गरेको थियो । छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका वर्तमान अध्यक्ष विमला भण्डारी, पूर्वअध्यक्ष पुण्य पौडेल, पोउवा संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य र कार्यसमिति सदस्य माधव बस्ताकोटी सदस्य रहेका थिए । संघको ६९ औँ वार्षिक अधिवेशनको क्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मानित गरेका हुन् ।पुरस्कारमा सम्मानपत्रसहित नगद २५ हजार रुपैयाँ पनि समावेश छ । सो पुरस्कारबाट यसअघि पत्रकारहरु सन्तोष पोखरेल,रुपनारायण ढकाल,भरत कोइराला र लालप्रसाद शर्मा सम्मानित भइसकेका छन् ।

उत्कृष्ट बस्तुगत सम्मान थोक व्यवसायी संघ कास्कीलाई
पोखरा उद्योग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट बस्तुगत संघ सम्मान २०८० बाट थोक बिक्रेता व्यवसायी संघ,कास्की सम्मानित भएको छ । संघको ६९ औँ वार्षिक अधिवेशनको क्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले थोक व्यवसायी संघ कास्कीका अध्यक्ष टीकाराम सुवेदीलाई प्रदान गरेका हुन् । संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचन संयोजक तथा संघका पूर्वउपाध्यक्ष मीनराज काफ्ले र ईश्वर कर्माचार्य,पूर्वउपमहासचिव प्रकाशदेव पालिखे र साधारण सदस्य पुरुषोत्तम श्रेष्ठ रहेको छनोट समितिको सिफारिसमा सो सम्मान प्रदान गरिएको हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected