0Shares

पोखरा भ्यूज
२६ असोज, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण र अस्पतालतोडफोड गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्त काराकार चलान भएका छन् । सोही अभियोगमा पक्राउ परेका अन्य ७ जना धरौटीमा रिहा भएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश ध्रुकुमार पियाको इजलासले अस्पतालमा तोडफोड भएकै दिन गत असोज ८ पक्राउ परेका विनय गुरुङ र असोज १२ गते पक्राउ परेका छावा भनिने सुशील कार्की पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जना भने एकएक लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । धरौटीमा रिहा हुनेमा सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनिष थापा र विजय गुरुङ छन् ।

जीवनाथ निउरेको जाहेरीका आधारमा प्रहरीले उनीहरुका उपरमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम तयार पारेको अनुसन्धान प्रतिवेदन बमोजिम जिल्ला सरकारी वकीलको कार्यालयले कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा नेपाल तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराई समेत १० जना विरुद्ध कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । यद्यपि उनीहरु अझै फरार छन् । फरार अभियूक्तहरुका नाउँमा म्याद जारी गर्न पनि कास्की जिल्ला अदालतले आदेश जारी गरेको छ ।

फरार सूचीमा रहेका अभियुक्तहरु:गौरव वराल, गिरे हिपप भनिने गिरबहादुर पुन, प्रेमलाल पुन, सागर परियार, पशुपति भट्टराई, अरुण गुरुङ, हम्पे भनिने नवीन लामा, सुजन अधिकारी, विवेकमान गुरुङ, पागल र आशिष भनिने कार्लोस गुरुङ र उत्तम भण्डारी फरार रहेको प्रहरीको उच्च स्रोतले पोखरा भ्यूजलाई बताएको छ ।

गत असोज ८ गते लमजुङबाट उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा ल्याइएकी सुकमाया दुराको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त भएको थियो । आफन्त, प्रशासन र अस्पतालबीच पटक पटकको वार्तापछि मृत्यु भएको ८ दिनपछि १६ असोजमा सुकमायाको शव उठेको थियो । घटनास्थलमा खटिएको प्रहरी टोलीका कमाण्डर वडा प्रहरी कार्यालय बैदामका तत्कालीन प्रहरी प्रमुख डीएसपी वेदप्रकाश जोशी हेडक्वाटर तानिएका थिए भने प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected