पोखरा भ्यूज
१४ कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो ४ दिने नेपाल भ्रमणअन्तर्गत पोखरा भ्रमण सकेर लुम्बिनी पुगेका छन् ।
सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत् पोखराको पुराने विमानस्थल ओर्लिएका गुटेरेस फिस्टेल लजमा बास बसे । पोखरा रहँदा उनले फेवातालमा मोटरबोट सयर गरी पुम्दीस्थित शिवमूर्तिको अवलोकन गरे । र, आज मंगलबार विहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् अन्नपूर्ण आधारशिविर पुगी जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पारेको अध्ययन अवलोकन गरे ।
गुटेरेस अन्नपूर्ण आधारशिविर पुग्दा अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर के.सी. अन्नपूर्ण गाउँपालिका वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङ, छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङ र सचिव दिलीप गुरुङ लगातका टोलीले स्वागत गरेको थियो । उनले अन्नपूर्ण आधारशिविरको क्षयीकरणबारे चासो राखेका पर्यटन व्यवसायी समेत रहेका छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले बताए ।
करिब ३० मिनेट आधारशिविरमा बिताएका गुटेरेस पोखरा फर्किएर पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रमा पारेको असर रोक्न विश्वव्यापी अपील गर्ने बताए । उनले नेपालजस्ता देशले जलवायु परिवर्तनको असर र त्यसले निम्त्याएको परिणाम भोग्नु परिरहेको बताए ।
उनले अहिलेको अवस्था रहे हिमालमा हिउँ नरहने र मानव समुदायले पानी पिउन नपाउने बताए । तापमान वृद्धिले हिमाली क्षेत्रमा धेरै हिमनदी पग्लिएर भू–क्षय, पहिरो जस्ता समस्या त्यहाँका समुदायले भोगिरहेको बताउँदै उनले प्रभावकारी ऐक्यबद्धता देखाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरे ।
पत्रकार सम्मेलन सकेर उनी आजै सेनाको जहाजमार्फत लुम्बिनी पुगेका छन् । लुम्बिनी भ्रमण सकेर उनले आजै नेपालको संघीय संसदलाई सम्बोधन गर्ने कार्यतालिका छ ।