0Shares

पोखरा

“यसपालिको चाडबाडमा कोही पनि नहुन सडकमा” भन्ने नाराका साथ सञ्चालित मेची महाकाली सडक मानव उद्धार अभियानका सहभागीहरू पोखरा आइपुगेका छन् । मानव सेवा आश्रमको आयोजना तथा आनी छोइङ डोल्मा फाउन्डेसनको सहयोगमा सञ्चालित अभियानका सहभागीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीराज तिम्सिना लगायतले स्वागत गर्नुभयो ।

सहभागीहरूलाई पोखरामा स्वागत गर्दै प्रमुख आचार्यले मानवीय सेवामा समर्पित रही सडकमा रहेका गरिब असहाय तथा घाइते अवस्थाका मानिसहरूको उद्धार गर्ने कार्यको प्रशंसा गर्दै मानवता प्रवर्द्धनको अभियानमा पोखरा महानगरपालिकाको तर्फबाट ऐक्यबद्धता जनाउनुभयो । “हरेक नागरिकका आभारभुत आवश्यकताको परिपूर्ति गर्ने दायित्व राज्यको हो, प्रमुख आचार्यले भन्नुभयो, यद्यपि राज्यले व्यवस्थापन गर्न नसकेको कार्य मानव सेवा आश्रमले प्रभावकारी ढङ्गले गरिरहेको छ ।” पोखरालाई सडक मानवमुक्त बनाउन महानगरले आवश्यक कार्य गरिरहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले सडकमा दुख कष्ट झेलिरहेका सडक मानवको उद्धारमा मानव सेवा आश्रमले प्रशसंनिय कार्य गरिरहेको बताउनुभयो ।

मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले अभियानका क्रममा १४३ सडक मानवहरूको उद्धार गरिएको जानकारी गराउनुभयो । मेची महाकाली अभियानका क्रममा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग, सद्भाव र ऐक्यबद्धताले उत्साहित बनाएको बताउँदै मानवीय सेवामा निरन्तर समर्पित भइरहने प्रतिबद्धता जाहेर गर्नुभयो । काठमाण्डौबाट सुरु भएको अभियान पूर्व मेची हुँदै पश्चिम महाकाली सम्म सञ्चालन हुनेछ । अभियानमा ४० जना सेवकहरू सहभागी छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected