0Shares

पोखरा भ्यूज

पोखरा । पोखरामा पहिलो पटक एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजित प्रतियोगिताको पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले शुभारम्भ गरेका छन् ।

सो अवसरमा प्रमुख आचार्यले पोखराको खेल पर्यटनमा प्रवर्द्धनमा प्रतियोगिताले महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । “पोखरालाई पर्यटनको राजधानी बनाउने क्रममा रहँदै गर्दा खेलकुदको माध्यमबाट पनि यसलाई सहयोग पुर्‍याउन सकिन्छ भनेर पोखरामा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भएका छन्, प्रमुख आचार्यले भने, यस पटक आर्वामा हुने यो इभेन्टले पनि पोखरा साँच्ची कै सबै प्रकारका खेल प्रतियोगिताहरू आयोजना गर्न उपयुक्त छ, भन्ने सन्देश दिनेछ ।” एन्डुरोका लागि तयार गरिएको रुटलाई नियमित प्रतियोगिता गर्नका लागि संरक्षण र सम्वद्र्धन गरिने उनले बताए ।

पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई नियमित रूपमा आयोजनाका लागि सम्बन्धित सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गरिने उनले बताए । आर्वाको भूगोल यस प्रकारको प्रतियोगिता सञ्चालनका लागि प्राविधिक टोलीले समेत उपयुक्त रहेको ठहर गरेपछि आवश्यक व्यवस्थापन गरिएको प्रमुख आचार्यले बताए ।

डन टिल डस्कद्धारा आयोजित प्रतियोगिता ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा ११ देशका ५५ खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा इलिट जुनियर (१२–१८) वर्ष, मास्टर्स क’ (३०–३९) वर्ष, मास्टर्स ख’ (४०–४९) वर्ष, भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुने का रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए ।

समुद्री सतहदेखि सतहबाट १४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्‍याउने वडाध्यक्ष किरण बरालले बताए । पोखरा महानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले प्रतियोगिता मार्फत पोखराको अन्तर्राष्ट्रिय बजारमा थप प्रचार प्रसार हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपाल सहित भारत, सिंगापुर, डेनमार्क, अमेरिका, बेलायत, अस्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स तथा न्युजिल्यान्ड लगायतका देशका साइक्लिस्टको सहभागिता रहेको छ । “एन्डुरो प्रतिस्पर्धा गर्ने आर्वा एक मात्रै स्थल हो,’ कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीले भन्नुभयो, एन्डुरो आफैँमा रोमाञ्चक र साहसिक प्रतिस्पर्धा हो ।’

एन्डुरो प्रतिस्पर्धाका लागि आर्वामा ६ वटा ट्रेल बनाइएको छ । ६ वटा ट्रेल खास गरी १.८ किलोमिटर, २ किलोमिटर लगायतको दूरीको छ । रेस डाइरेक्टर शर्माका अनुसार ट्रेलमा साइक्लिस्टले डाउन हिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्ट्याइनेछ । खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected