पोखरा भ्यूज
पोखरा । जन्मदिन कसरी मनाउने या नमनाउने यो नितान्त व्यक्तिगत कुरा हो, तर भिमाद नगरपालिका–२, खोरिक्मा घरभई हाल पोखरा–१७, बिरौटा निवासी अम्बिका सिग्देल भोज, भतेर गरेर जन्मदिन मनाउनु फजुल हुन्, क्षणिक हुन भन्ने बुझाई उहाँको छ । चार छोरा, चार छोरी, नाती नातिना पनातिसहित ५७ जनाको एक्ली अभिभावक ८० वर्षीय सिग्देलका छोराहरूले आफ्नी आमाको जन्मदिन फरक फरक तरिकाले मनाएका छन् ।
तनहुँको भिमाद–२, टेक्रेस्थित बालबिकास माबि का प्रधानाध्यापक रहेका जेठा छोरा राम्जीप्रसाद सिग्देलले आफुले पढ़ाउने बिधालयका बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरेका छन् । सिग्देलले आफ्नी आमाको ८०औ जन्मदिनको उपलक्ष्यमा बिपन्न तथा जेहन्दार बालबालिकालाई केही मात्रामा भएपनि सपोर्ट गर्न पाएकोमा ख़ुशी व्यक्त गरेका छन् ।

त्यस्तै, हाल नेपालगंजमा रहेका माईला छोरा भगवान सिग्देल र कान्छा छोरा रवि सिग्देलले भुकम्प पिडितहरुका लागि एकाउन्न हजार १ सय ५१ रूपैयॉ सहयोग स्वरूप भुकम्प पिडित राहतकोष जम्मा गरेका छन् ।
त्यस्तै, साईला छोरा लायन्स क्लब अफ पोखरा पिस सिटीका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट काउन्सिलर अर्जुन सिग्देलको संयोजनमा पोखरामा एक कार्यक्रमको आयोजना गरी अग्नि पिडित दृष्टिविहिनहरूलाई न्यानो कपडा वितरण गरिएको छ । उनका अनुसार आमाको इच्छा र चाहना बमोज़िम बिगतका बर्षहरुमा पनि जन्मदिनमा यस्ता कार्यहरु गर्दै आइरहेको बताए ।
कार्तिक महिनाको २९ गते भाईटिकाको दिनमा पोखरा महानगरपालिका वडा नम्बर २९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिबिहीन आश्रममा आगलागी भएको थियो । दृष्टिविहीन र अपाङ्गता भएकाहरू सहित ३० जना आश्रममा बस्दै आएका थिए । उनीहरुले बजारमा बेच्ने अगरबत्ती, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगायतका सामग्रीहरू विक्रीका लागि तयारी अवस्थाका सामान जलेर नष्ट भएको थियो । हाल उनिहरू अर्को विकल्प नभईन्जेल सम्मको लागि नेत्रहीन संघ कास्कीको भवनमा आश्रय लिईरहेका छन् ।
बुधवार पोखरा-२६ बुढीबजार स्थित नेत्रहीन संधको भवनमा आयोजित कार्यक्रम लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजना लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रमुख अतिथि ढुंगानाले न्यानो कपड़ा बितरण गर्दै जन्मदिन मनाउने नाममा बिभिन्न खाले बिकृति, बिसंगितहरु हावी भईरहेका बेला आमाको जन्मदिनको अवसरमा तीन छुट्टाछुट्टै ठाउँमा तीन किसिमका परोपकार, सामाजिक सेवाका काम भएकोमा सिग्देल परिवारप्रति आभार व्यक्त गरेका थिए ।
क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुंगानाले क्लबको गतिबिधि बारे प्रकाश पार्दै लायन्सको मर्म अनुरूप लायन्सले जहाँ आवश्यकता छ, त्यहाँ लायन्स पुग्ने गरेको बताए ।
लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष युवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दृष्टिबिहीन आश्रम केन्द्रका उपाध्यक्ष कृष्ण भुजेलले आगलागीका कारण ७५ लाखभन्दा बढीको धनमाल क्षति भएको, स्कूल जाने साना बच्चा छन् उनिहरुको स्कूल जानको लागि चाहिने न्यूनतम आवश्यकता सब जलेर नष्ट भएकाले सबैसबै सहयोगी मनसम्म मेसेज पुर्रयाइदिन अनुरोध गरेका थिए ।

