नवराजकी प्रेमिकाका बाबु र तत्कालीन वडाध्यक्षसहित २३ जनालाई जन्मकैद, प्रेमिका, आमा र भाइलाई जातीय विभेदमा सजाय
- December 5, 2023
- 1746

पोखरा भ्यूज
१९ मंसिर, रुकुम । जिल्ला अदालत रुकुमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
मंगलबार भएको सुनुवाईमा जिल्ला न्यायाधीश खड्कबहादुर के.सी. को इजलाशले घटनामा संलग्नहरुलाई जन्मकैद हुने गरी फैसला सुनाएको हो ।

उनीहरुमाथि क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको अभियोग थियो । आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो।


उक्त घटनमा जन्मकैद सजाय पाउनेमध्येमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष डम्बरबहादुर मल्ल, सोती गाउँका नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनाराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इदबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजु समेत छन्।

यस्तै, नवराजकी प्रेमिका, उनका भाइ र आमालाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ। उनीहरूलाई थुनछेकको आदेशबाट साधारण तारेखमा थिए ।
साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनालाई भने सफाइ पाएको स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिएकी छन् । तीन दिनसम्म चलेको मुद्दाको अन्तिम सुनुवाइमा २३ जना वकिलहरूले बहसपैरवी गरेका थिए।
सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले जाहेरवाला वादी (पीडित) तर्फबाट बहस गरेका थिए भने ५ जना निजी वकिलहरूले प्रतिवादी (पीडक) तर्फबाट बहस गरेका थिए ।
यस्तो थियो घटना विवरण
वि.स. २०७५ सालमा जाजरकोटकै कुदुमा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जारकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीया नवराज विक र चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीबीच पहिलोपटक भेटघाट भएको थियो । त्यही पहिलो भेटबाट नै उनीहरूबीच प्रेम अंकुराएको थियो ।
उनीहरुबीचको प्रेमसम्बन्ध करिब २ वर्षसम्म चल्यो । त्यहीबीचमा वि.स.२०७६ पुसमा खलंगामा रमाइलो मेला भर्न पुगेकी उनी चार दिनसम्म नवराजको घरमा बसेकी थिइन्। त्यही बसाइँमा नवराजकी आमाले उनीहरूबीच प्रेम सम्बन्ध रहेको भेउ पाएकी थिइन ।
त्यसपछि नवराज पनि युवतीको घरमा गएका थिए। युवतीकी आमाले नवराजलाई खाना खुवाएर जात नमिल्ने भएकाले घरमा आउजाउ नगर्न चेतावनी दिएकी थिइन्।
घटना हुनुको दुई महिनाअघि २०७६ चैत १७ गते नवराज दोस्रोपटक युवतीको घर सोती गएका थिए। त्यतिबेला तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका दाइ विनोद मल्ल र परिवारको अरू सदस्यले कुटपिट गरी इलाका प्रहरी कार्यालय चौरजहारीमा बुझाएका थिए।
चौरजहारी प्रहरीले नवराजको परिवारलाई बुझ्न आउनु भनेपछि आमाले बुझेर नवराजलाई घर ल्याएकी थिइन्।
नवराजको घर जाजरकोट खलंगाको रानागाउँदेखि युवतीको घर सोती गाउँ करिव २ घण्टा ४५ मिनेटको दुरी टाढा छ । घटना भएको दिन २०७७ जेठ १० गते नवराजकी प्रेमिकाले नै अभिभावकले अन्यत्रै विवाह गरिदिन लागेकोले लिन आउनू भनेकीले नवराज १८ जना साथी भाई जुटाएर सोती गाउँ गएका थिए ।
करिब साढे ५ बजे सोती पुगेका समूहमध्येका नवराजलाई देखेपछि उनकी प्रमिकाकी आमाले ‘तँ डुम फेरि आइस्, तँलाई कुटाइ नपुगेको हो’ भनेर गाली गलौज गर्न थालेपछि नवराजको समूह गाउँबाट भागेको थियो । तर बाटोमा रहेको स्थानीय बालकुमारी विश्वकर्माको घरको धारामा पानी पिउँदै गर्दा केही स्थानीयले ‘काफल खाएर जाऊ’ भनेर अल्मल्याउन खोजेको भए पनि उनीहरु सरासर बाटो लागेका थिए।
उनीहरू फर्किएर मध्यपहाडी लोकमार्गको माथिल्लो भागमा रहेको ठूलो ढुंगामा बसिरहेका बेला हतियारसहित ठूलो जत्था आएर घेरा हालेर उनीहरुमाथि एक्कासि आक्रमण गर्दा उक्त घटना भएको थियो ।
उक्त आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ बर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो। उनीहरूको शव फरकफरक दिन, फरक स्थानमा भेरी नदीमा फेला परेको थियो।
आक्रमणबाट घाइते भएकाहरूलाई प्रहरीले चौरजहारीमा रहेको मिसन अस्पतालमा पुर्यायो। त्यहाँ उपचारपछि १२ जना घर फर्किए।
घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएको आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानबाट थप १४ जनालाई पक्राउ गरी उक्त घटनाको कसूरमा मुद्दा चलाएको थियो ।




