२३औं आहा रारा गोल्डकपको तयारी पूरा, उद्घाटन खेल आयोजक सहारा क्लब र थ्रीस्टार बीच हुने
- January 21, 2024
- 1431
पोखरा भ्यूज
पोखरा । सहारा क्लबको आयोजनामा हुने २३औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । मंगलबारदेखि सुरु हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक सहारा क्लव पोखराले आइतवार पत्रकार सम्मेलन गरी जनाएको छ । उद्घाटन खेल माघ ९ गते आयोजक सहारा क्लब र थ्रीस्टारबीच पहिलो खेल हुनेछ ।
प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएका छन् । नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्र, सङ्कटा, चर्च ब्वाइज, एपीएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार, भुटानको पारो फुटवल क्लब र आयोजक सहाराले प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको दोस्रो दिनको खेल १० गते त्रिभुवन आर्मी र राइजिङ स्टार, तेस्रो दिनको खेल ११ गते मच्छिन्द्र र जाउलाखेल, चौथो दिन माघ १२ गते एपीएफ र नेपाल पुलिस बीच हुनेछ । त्यसपछि १३, १४, १५, १६ गते क्वाटर फाइनल, १७ र १८ गते सेमिफाइनल र २० गते फाइनल खेल हुने सहारा क्लवले जनाएको छ ।
प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, सहभागी प्रत्येक टिमलाई प्रत्येक खेलको २० हजार र क्वाटरफाइनल खेल्नेलाई ३० हजार तथा सेमिफाइनल खेल्नेलाई ५० हजार उपलब्ध गराइने सहारा क्लवका महासचिव अधिकारीले बताए । उनका अनुसार प्रतियोगिताका लागि आउने टिमको यातायात, दैनिक भत्ता पनि आयोजकले नै व्यहोर्ने भएको छ ।
प्रतियोगितामा १ करोड ८६ खाल ७५ हजार आम्दानी र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्चलाग्ने अनुमान गरिएको छ ।
खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा विकास गरौँ भन्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा यस पटक टिकट काटेर खेल हेर्ने दर्शकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । जसमा टिकट काटेर खेल हेर्ने प्रत्येक दिन दुई जना दर्शकले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।