
पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब गल्याङ च्याम्पियन बनेको छ।
प्रतियोगितामा हरिनास गाउँपालिका दोस्रो र शुक्लागण्डकी–१२ तेस्रो भए। विजेता गल्याङले एक लाख, उपविजेता हरिनासले ५० हजार र तेस्रो भएको शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
व्यक्तिगत विधातर्फ सुनील मानन्धर बेस्ट स्पाइकर, सञ्जित मानन्धर बेस्ट ब्लकर, सुशील विश्वकर्मा बेस्ट डिफेन्डर, विशाल ठाकुरी बेस्ट सर्भर, श्याम विश्वकर्मा बेस्ट कोच र उमेश सेन्चुरी उत्कृष्ट खेलाडी घोषित भए। उनीहरूले जनही दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
समापन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले प्रतियोगिताले युवालाई खेलकुदसँग जोड्नुका साथै अनुशासन, सहकार्य र सामाजिक एकता अभिवृद्धि गर्ने बताइन्। उनले विश्वकर्मा समुदायको कला, संस्कृति, सीप र पहिचान नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता गतिविधि महत्वपूर्ण रहेको उल्लेख गरिन्।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष बेलबहादुर विश्वकर्माले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रायोजक, दाता तथा संघ–संस्थाप्रति आभार व्यक्त गरे। खेलकुद संयोजक पीताम्बर सुनारले आगामी दिनमा पनि युवा तथा उदीयमान खेलाडीको पहिचान र विकासका लागि प्रतियोगितालाई निरन्तरता दिइने बताए।
कार्यक्रमको सञ्चालन समाजका सचिव तथा प्रवक्ता शरणसिंह विश्वकर्माले गरेका थिए।













