
पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र सरोकारवाला एकजुट भएका छन्।
करिब ८ किलोमिटरको पर्वतीय दौडलाई खेलकुदसँगै पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रसँग जोडेर अघि बढाउने आयोजकको तयारी छ। प्रतियोगिताले पुम्दी–भुम्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र नयाँ खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।
पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले प्रतियोगितालाई वडा तहबाट आवश्यक सहयोग र निरन्तरता दिने बताए। उनले पुम्दी–भुम्दी पदयात्रा तथा पर्यटनका लागि सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै ‘राउन्ड फेवा, भ्यू फेवा’ फुटट्र्याक निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।
पुम्दी–भुम्दीमा पदमार्ग तथा फुटट्र्याक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी)को सहकार्यमा करिब ५२ करोड रुपैयाँ बराबरको काम अघि बढेको र टेन्डरसमेत भइसकेको उनले बताए।
विश्व शान्ति स्तूप समितिका सचिव दुर्गाबहादुर गुरुङले पर्यटन र खेलकुदका गतिविधिलाई निरन्तरता दिएर स्थानीय युवाको पलायन रोक्न सकिने बताए। स्थानीय होमस्टे, विद्यालय, स्वास्थ्य चौकी तथा युवा परिषद्ले समेत प्रतियोगितामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
रेस डाइरेक्टर ओम गुरुङले प्राकृतिक सौन्दर्य र मनोरम दृश्यका कारण प्रतियोगिता धावक तथा दर्शकका लागि आकर्षण बन्ने बताए। उनका अनुसार यसलाई पोखरा–२२ को नयाँ खेल पर्यटन ब्रान्डका रूपमा विकास गर्ने लक्ष्य छ।
प्रतियोगितामा खुलातर्फसहित पाँच विधामा प्रतिस्पर्धा हुनेछ। सहभागी खेलाडीका लागि केही दिनभित्रै पोखरा क्लिक अनलाइन पोर्टलमार्फत आवेदन खुला गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा लेक फ्रन्ट होटल एन्ड सुइट्स मुख्य साझेदार, नेलम्बो नेपाल मेडिकल पार्टनर र पोखरा टेलिभिजन अफिसियल टेलिभिजनका रूपमा जोडिएका छन्।













