2Shares

पोखरा भ्यूज
पोखरा । पोखराको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्ने भएका छन् । यसअघि काठमाडौंबाट सामान ल्याएर होलसेल व्यापार गर्दै आएका चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसायीले अबदेखि चीन, थाईल्याण्ड र भारतबाट सिधै सामान ल्याएर बेच्न लागेका हुन् । काठमाडौंबाट सामान ल्याउँदा सामान जुध्ने र महंगो पर्ने हुँदा प्रतिष्पर्धात्मक बजारमा गाह्रो हुने भएकाले सिधै चीन, थाईल्याण्ड र भारतबाट सामान ल्याएर बेच्न लागिएको सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुल थापा (राजन)ले जानकारी दिए । विगत १० वर्ष अघिदेखि नै त्यहाँका केहि व्यवसायीले विदेशबाट सिधै सामान ल्याएर बेच्ने गरेपनि अहिले अधिकांश होलसेल व्यवसायीले सिधै ती देशबाट सामान ल्याएर बेच्न लागेको उनले बताए ।

चीन, थाईल्याण्ड र भारतका बाट सिधै सामान ल्याउँदा सस्तोमा सामान आउने र ग्राहकलाईपनि सस्तोमा सामान दिन सकिने भएकाले काठमाडौंको सट्टा सिधै ती देशबाट सामान ल्याएर बेच्न लागिएको उनको भनाई छ । ‘ती देशबाट सिधै ल्याउँदा सामानपनि गुणस्तरीय, फरक/फरक आईटम, रोजेरपनि ल्याउन पाइने हुँदा सामानपनि राम्रो र सस्तोपनि हुन्छ ।’ उनले अबदेखि नेपालमा उत्पादन हुने सामानहरुपनि सिधै उद्योगबाटै खरिद गरेर ल्याईने जानकारी दिए । यसले गुणस्तर कायम गर्न र मूल्यपनि केहि कम पर्ने उनको भनाई छ ।

विदेशबाट सिधै सामान ल्याउने प्रयास स्वरुप सर्वेश्वर मार्गका एक दर्जन भन्दा बढीको टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको अध्यक्ष थापाले जानकारी दिए । यसअघि पुसको मध्यतिर दुई दर्जन जनाको टोली चीन गएर सामान ल्याएको थियो । आज फेरी अर्को टोली सामान लिन शनिबार राती चीनतर्फ जान लागेको अध्यक्ष थापाले बताए ।

तीन चरणमा गरेर चार/पाँच दर्जन जनाको टोली चीन गएर सामान ल्याउने कार्यक्रम रहेको समितिका बरिष्ठ उपाध्यक्ष छविलाल गौतमले बताए । दोश्रो टोली आज राती ११ः५५ बजेको फ्लाईटमा सामान लिन चीन जान लागेको उनले बताए । टोलिमा फेन्सी, कस्मेटिक, जुत्ता, चप्पल तथा ब्रा पेन्टीका होलसेल व्यवसाय गर्ने व्यवसायीहरु रहेको उनले जानकारी दिए । उनका अनुसार यो टोलीले चीनको ग्वाञ्झाओ, फुजियान र ईयू पुगेर सामान खरिद गर्नेछ । तेश्रो टोली भने मार्चको पहिलो हप्ता सामान लिन चीन जाने उनले जानकारी दिए ।

होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected