0Shares

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोकस्थित सबलाइम अङ्ग्रेजी माविको २८ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस शनिबार कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा विद्यालयका पूर्व विद्यार्थीलाई सम्मान, वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै प्रत्येक कक्षाका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
सम्मानित हुनेमा पूर्व विद्यार्थी पत्रकार हरि पन्त, चाटर्ड एकाउन्टेन्ट विक्रम पराजुली, चिकित्सक डा. प्रतीक्षा पौडेल, इन्जिनियर राजन पौडेल, पाइलट राजन कार्की, गायक सुमन खड्का, सर्प विशेषज्ञ रोहित गिरी छन् ।
कार्यक्रम शुभारम्भ गर्दै शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख लोकनाथ आर्चायले हरेक विद्यार्थी केही केही विद्यामा निपूणर् हुने बताए । अभिभावकले आफ्ना बाबुनानी पढाईमा कमजोर भए भन्दैमा चिन्ता गर्न नहुने भन्दै उनले बाबुनानीको रुची के मा छ त्यतातर्फ ध्यान दिन आवश्यक गरेको बताए ।
२१ औँ सताब्दिको विद्यार्थीलाई हरेक क्षेत्रमा अवसर रहेको हुने उनले बताए । विद्यालयले पढाइको अलावा खेलकुद, सङ्गीत, कला, नृत्य जस्ता विषयमा समेत कक्षा सञ्चालन गरि विद्यार्थीको रुचि र क्षमतामा अनुसार पठनपाठनलाई जोड दिनुपर्ने खाँचो औंल्याए ।
प्याव्सन केन्द्रीय उपाध्यक्ष बीरबहादुर बुढाथोकीले सबलाइमले छोटो समयमै लामो फड्को मारेको बताए । उनले सबलाइम मावि पोखराका उत्कृष्ट विद्यालयभित्र पर्ने दावी गरे । विद्यार्थीमा क्षमता कति हुन्छ भन्ने कुरा कार्यक्रममा प्रस्तुत भएका सांस्कृतिक प्रस्तुतिले नै प्रस्ट पारेको उनले बताए ।
पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले विद्यालयले गर्ने हरेक कार्यमा सहकार्य गर्न तयार रहेको बताए । उनले विगतमा पनि केही काममा सहकार्य भएको भन्दै भविष्यमा पनि निरन्तर रहने स्पष्ट पारे । साथै उनले गुणस्तरीय शिक्षामा कुनै कमि हुन नदिन आग्रह गरे ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार गणेशमान सिंह भण्डारी, प्याब्सन केन्द्रीय उपाध्यक्ष वीरबहादुर बुढाथोकी, प्याव्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, गण्डकी प्रदेश सचिव विश्वराज बास्तोला, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी वरिष्ठ अधिकृत ईश्वरी शाह पाण्डे, प्याब्सन कास्की उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, हिसान कास्कीका उपाध्यक्ष दिवाकर जैसी, अभिभावक सुरेश रानाभाटलगायतले बोलेका थिए ।
विद्यालयका प्राचार्य पुष्पराज पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको गतिविधिबारे चर्चा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली विभाग प्रमुख कमलापति शर्मा र विद्यार्थीहरुले गरेका थिए ।
२०५२ सालमा स्थापित विद्यालयमा हाल १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected