
पोखरा । पोखराको जगदम्बा ट्राभल्सले पोखरा देखी काठमाण्डौका लागि सुविधा सम्पन्न लक्जरी बस सञ्चालनमा ल्याएको छ । सार्वजनिक यातायातलाई आधुनिक र सुविधा सम्पन्न बनाउने उद्देश्यले ट्राभल्सले विहिवारदेखि सुविधा सम्पन्न सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको हो ।
पोखरा काठमाण्डौ र पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले आफ्नो चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको ट्राभल्सका सञ्चालक केशव प्रसाद अधिकारीले जानकारी दिए ।

सञ्चालक अधिकारीका अनुसार लक्जरी बसमा रिमोट कन्ट्रोल बिलासी सोफा सीटहरू, शौचालय, सिट बेल्ट, विलासी एयर सस्पेन्शन एयर बस, चार्ज पोर्ट, थ्रिडीध्वनि प्रणाली, टेलिभिजन झ्यालबाट बाहिरको दृश्य सहजै देख्न सकिने, अत्याधुनिक तरिकाले सिट सञ्चालन गर्न सकिने, क्रू सर्भिस, खाजा, कफी, लन्च र हाइटीको ब्यवस्था सहित सुपर भिआइपी बस सञ्चालनमा ल्याइएको हो । एउटा गाडीमा १ करोड ५० लाख लगानीका हुँदा २ वटा गाडीमा ३ करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए । २९ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाण्डौको भाडादर २५ सय तय गरिएको छ ।

उक्त बस पोखराको पर्स्याङस्थित जगदम्बाको ग्यारेजबाट ७.३० बजे प्रस्यांग, लेकसाइड हुँदै बसले काठमाडौंको यात्रा तय गर्नेछ । काठमाडौंमा पनि सोही समयमा लैनचौर मल्ल होटलबाट पोखराको लागि बस छुट्नेछ ।
जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको रआगामी असार भित्रमा पोखर पटना समेत लक्जरी बस सञ्चालनको तयारी गरिरहेको र बसहरु दिल्लीमा निर्माणाधिन रहेको अधिकारीले जानकारी दिए । बस सञ्चालनका लागि पटना सरकार संग सहकार्य भइरहेको उनको भनाइ रहेको थियो । जगदम्बाले यस अघि पोखरा काठमाण्डौ दिवा र रात्री सेवामा लक्जरी बसहरु सञ्चालन गर्दै आइरहको छ ।











