
पोखरा । विवादका बीच विश्वासको मत पाएका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका छन् । उनले एमालेका तर्फबाट सीता सुन्दास र बेदबहादुर गुरुङलाई मन्त्री बनाएका हुन् । सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङलाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ । सुन्दास र गुरुङ यसअघि अधिकारी मुख्यमन्त्री हुँदा पनि मन्त्रीमण्डलमा रहेका थिए ।
योसहित मन्त्री मण्डल ५ सदस्यीय पुगेको छ । यसअघि माओवादी केन्द्रका हरीबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) क्रमशः आर्थिक मामिला र भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन् ।
माओवादीले तीन मन्त्रालय मागेपछि एमाले रुष्ट भएको छ । एक एमाले नेताका अनुसार माओवादीले वार्गेनिङ गरेपनि एमालेले माओवादीले मागेका सबै मन्त्रालय नदिने भएको हो ।
आइतबार मात्रै मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए । गण्डकी प्रदेशसभाको बनोट अनुसार ६० सदस्यीय प्रदेशसभामा बहुमतको लागि ३१ जना सभासद पक्षमा रहनुपर्छ । तर, आइतबार गण्डकीमा त्यस्तो भएन । त्यसको अपब्याख्या भयो । सभामुखलाई तटस्थ मानियो भने सदनलाई नै ५९ सदस्यमा झारियो । सभामुख कृष्ण धितालले सर्वोच्चको वैशाख १७ गतेको फैसला अनुसार आफ्नो मताधिकार रहेको जिकिर गर्दै ३० लाई नै बहुमत भएको घोषणा गरेका थिए ।











