लायन्सको अन्तर्राष्ट्रिय गुठीबाट नेपालका विभिन्न परियोजनाका लागि ९ करोड ५० लाख बराबरको अनुदान प्राप्त
- May 15, 2024
- 16074

पोखरा । लायन्सको अन्तर्राष्ट्रिय गुठी एलसिआईएफबाट नेपालका विभिन्न जिल्लाका सातवटा प्रोजेक्टलाई ९ करोड ५० लाख बराबरका अनुदान प्राप्त हुने भएको छ । लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनको मई महिनामा बसेको बोर्ड अफ ट्रस्टीको बैठकबाट नेपालमा रहेका १५ डिष्ट्रिक्ट मध्ये छ वटा डिष्ट्रिक्टका सात वटा परियोजना स्वीकृत गरेको लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालले बताए ।
स्वीकृत भएका परियोजनाहरू डिष्ट्रिक्ट ३२५ ‘सि’ बाट प्रस्तावित मानव सेवा आश्रम बिराटनगरको किचन रडाईनिंग हल निर्माणका लागि अमेरिकी डलर एक लाख १७ हजार ६ सय ६९ र ईटहरीमा ‘माया घर’ अनाथ महिला आश्रम निर्माणका लागि ९९ हजार ८ सय ९० अमेरिकी डलर स्वीकृत भएको छ । त्यस्तै, ३२५ ‘डि’ बाट प्रस्तावित परियोजना स्तुपा सामुदायिक अस्पताल चुच्चे पाटी काठमांडौंका डायलाईसिस सेन्टरका लागि एकलाख डलर, डिष्ट्रिक्ट ‘ई’ को परियोजना चन्द्रागिरी अस्पताल थानकोटको लागि ९८ हजार ६ सय ५१ डलर र डिष्ट्रिक्ट ३२५ ‘जी’ को प्रस्तावित परियोजना भक्तपूर ठिमीमा ब्लड बैक इक्विपेन्टका लागि ९७ हजार ३ सय १ डलर स्वीकृत भएको छ । यसैगरी डिष्ट्रिक्ट ३२५ ‘एल’ को जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको डायलिसिस सेन्टरका लागि ८३ हजार ६ सय ३७ र डिष्ट्रिक्ट ३२५ ‘एन’ को कर्णाली प्रदेशमा संचालित मुटुरोग सेवाका लागि ९९ हजार ८ सय ५२ डलर बराबरको परियोजना स्वीकृत भएको एलसिआईएफ एरियालिडर राजन लम्सालले बताए ।

एलसिआईएफले लायन्स मार्फ़त स्थानीय समुदायको आवश्यकताको आधारमा सेवा गर्ने हेतुले सहयोग गर्न विभिन्न प्रकारका अनुदानहरू प्रदान गर्दछ । दशकौंदेखि, एलसिआईएफले नेपालमा मोतियाबिन्दु, विपद्का बेला राहत, युवा र मानवीयसेवाका क्षेत्रमा लायन्सको प्रयासमा अनुदान प्रदान गर्दै आइरहेको छ ।


नेपाललाई प्राप्त हुने रक़ममा ख़ुशी व्यक्त गर्दै लायन्स अन्तरराष्ट्रियका एलसीआईएफ एरिया लिडर राजन लम्सालले डिष्ट्रिक्ट गभर्नरहरूको लिडरशिपमा नेपालले एलसीआईएफबाट जसरी रकम प्राप्त गरेको छ, नेपालका सबै डिष्ट्रिक्टहरूले यसरी नै प्रोजेक्टहरु ल्याउन सक्नेछन् । लम्सालले भने, ‘शुरुवात भएको छ, गभर्नरहरू धन्यवादका पात्र हुनुहुन्छ र हामी नेपालका सबै डिष्ट्रिक्ट मार्फत नेपालको सामाजिक सेवामा योगदान दिन चाहन्छौ र बाँकी प्रोजेक्टहरु पनि बिस्तारै ल्याउन पहल गर्दै जानेछौ’ ।

डिष्ट्रिक्ट ३२५ आई नेपालले पनि गत बर्ष भित्राएका तीनवटा प्रोजेक्ट मध्ये म्याग्दी जिल्लाको बेनीस्थित म्याग्दी मल्टिपल कलेजको ५ कोठे भवन सहितको बिज्ञान प्रयोगशाला निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरेको छ भने बाँकी दुई पोखरा–१२ स्थित श्री सितलादेवी सामुदायिक विद्यालयमा किचन, डाइनिङ्ग हल, किचन सामाग्री तथा कुर्ची टेबल खरिद र काठमांडौको साङला सामुदायिक अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको छ ।




