0Shares

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सही स्थितिको सही विश्लेषण नै माक्सवाद भएको बताएका छन् । बुधबार नेकपा एमाले कास्कीको आयोजनामा पोखरा-१६, खोलाखेत स्थित मदन-आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पुँजीवादी जनवादी क्रान्ती शान्तिपूर्ण बाटोबाट हुन्छ भन्ने जननेता मदन भण्डारीको भनाईले त्यसलाई प्रष्ट पारेको उनले खुलाए ।

‘भयो त्यस्तै भोट हालेर ४ जना राजावादी भए, अरु सबै गणतन्त्रवादी, मदन भण्डारी ज्योतिषी त होइन नी, तर सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो, त्यो विश्लेषण गर्नुभयो’ अधिकारीले भने । जनताको बहुदलीय जनवादले पुँजीवादी जनवादमा मात्र नभएर समाजवादमा पनि दलीय प्रतिष्पर्धालाई खुला गरेको भनाई थियो ।

बहुदलीय जनवादले के भन्यो भने समाजवादी समाजमा पनि वर्गीय अस्तित्व रहन्छ, प्रतिष्पर्धा रहन्छ, पुँजीवादी जनवादमा मात्र हैन समाजवादमा पनि दलीय प्रतिष्पर्धालाई खुला गर्‍यो, त्यहीँ बाटोमा आज हामी छौँ’ उनले भने ।

सिपी मैनाली र झलनाथ खनाल जनताको बहुदलीय जनवादको विरोधी भएको र माधव नेपालले पनि दोस्रो पटक बहुमत देखेपछि भोट हालेको उनको दावी छ ।

‘सिपी मैनाली, झलनाथ खनाल जनताको बहुदलीय जनवादको विरोधी हुन्, माधव नेपालपनि बहुदलीय जनवादमा भोट नहालेका मानिस हुन्, दोस्रो पटक मात्र हाले बहुमत देखेपछि’ अधिकारीले थपे ।

जननेता भण्डारीको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पुर्‍याएको भन्दै भण्डारीको विचारलाई अनुसरण गर्दै उहाँले देखेको सपनालाई साकार पार्नुपर्ने बताए ।

राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान नसकिने भएकोले राष्ट्रिय पुँजीको विकासमा ध्यान दिनुपर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका अधिकारीले जोड दिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दर्शन लामाले गरेका थिए ।

एमाले कास्कीले जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३१ औँ स्मृति दिवसको अवसरमा बुधबार सरसफाइ, माल्यार्पण तथा जवजका विशेषताहरूको वाचन कार्यक्रम आयोजना गरेको हो । वडा पार्टी कमिटी पोखरा १६ को व्यवस्थापनमा भएको कार्यक्रममा नेकपा एमालेका नेता, जनप्रतिनिधि र शुभचिन्तकको सहभागीता रहेको थियो ।

कास्कीको जिल्ला अधिवेशन उद्घाटन गरेर फर्कने क्रममा २०५० साल जेठ ३ गते दासढु्ंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । एमाले कास्कीले स्मृति दिवसको अवसरमा बिहीबार जिल्ला पार्टी कार्यालयमा नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक प्रवचन कार्यक्रमको आयोजना गर्ने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected