2Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्याउनुभएको योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताउनुभएको छ ।

इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले उहाँका परिवारजनलाई आज पठाउनुभएको समवेदना सन्देशमा सो उल्लेख गर्नुभएको हो । “तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गर्नुभएका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो”, समवेदना सन्देशमा भनिएको छ ।

ज्ञानमणिका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका महत्वपूर्ण कृति एवम् कैयौं अनुसन्धान र खोजमूलक लेखरचना चीरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिनै रहने पनि राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ । साथै स्वर्गीय ज्ञानमणिको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । सो समवेदना सन्देश राष्ट्रपति पौडेलकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले परिवारजनलाई हस्तान्तरण गर्नुभएको थियो ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected