1Shares

पोखरा भ्यूज
१४ जेठ, पोखरा । गण्डकी प्रदेशमा सरकार कुर्चीको खेलमा भुलिरहँदा सहकारी पिडित मारमा परेका छन् । गण्डकी प्रदेशमा मुख्य दलहरु कांग्रेस, एमाले र माओवादी सरकार बनाउने र टिकाउनेदेखी अदालत धाउने काममा व्यस्त हुँदा सहकारी पिडितमाथि झन पिडा थपिएको हो ।

कास्कीको सुर्यदर्शन बाहेक अन्य सहकारी ठगी प्रकरण भने ओझेलमा परिरहेका छन् । लामो समयदेखी बचतकर्ताले न्याय माग्दा समेत राजनैतिक दलबाट सहयोग प्राप्त नहुँदा गण्डकीका सहकारी पिडितहरुले ठगले भन्दा ठूलो पिडा राज्यले दिएको सुनाउँछन ।
शिवशिखर र मित्रमिलन सहकारीबाट ठगीएकी रुपमाया गुरुङको ७९ लाख रुपैयाँ डुबेको छ । ‘सरकारले हामी सहकारी पीडितलाई उपेक्षित गरेकै हो । यदि राज्यले चाहे हाम्रो रकम फिर्ता आउँछ’ उहाँले भन्नुभयो, ‘ शिवशिखरमा श्रीमान र सासुको गरी ७९ लाख रुपैयाँ थियो । रकम निकाल्न जाँदा डुबेको थाहा पायौं ।’ शिवशिखरमा काम गर्ने एक महिला कर्मचारी आफ्नो घर नजिकैको रहेको र उनले टार्गेट पुरा गर्नका लागि आफुसँग १० दिनका लागिमात्र रकम राखिदिन आग्रह गरेपछि तीन वर्ष अघि एनएमबी बैंकमा जम्मा गरेको रकम झिकेर सहकारीमा राखेको उहाँले सुनाउनुभयो ।
नेपाल समाजवादी गण्डकी प्रदेशका अध्यक्ष किरण थापाले गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै सहकारी ठगी प्रकरणमा लामिछने दोषी देखिएको आरोप लगाउनुभयो । यस्तै गण्डकी प्रदेशमा रहेका विभिन्न राजनैतिक दलका नेता तथा सांसदहरु कुर्चीको खेलमा भुल्दा सहकारी पिडितको समस्या समाधान गर्न असक्षम देखिएको छ । सहकारी प्रकरणमा ठूला राजनैतिक दलकै व्यक्ति संललग्न हुँदा चुप लागिरहेको उहाँले बताउनुभयो ‘स्थापित र ठूलो दलका स्थापित र उच्च तहका व्यक्ति नै सहकारी रकम अपचलनमा औपचारिक/ अनौपचारिक रुपमा संलग्न छन । त्यसैले यो मुद्दामा नजरअन्दाज गरेका छन’ उहाँले भन्नुभयो, ‘राजनैतिक दलहरुले संरक्षण नगर्ने हो भने सहकारी पिडितको रकम अपचलन गर्नेहरुलाई प्रहरीले एकमहिना भित्र छानबिन गरि कार्वाही गर्न सक्छ ।’
सरकारले आजसम्म सहकारी पिडितको बचत फिर्ता गर्ने सन्दर्भमा कुनैपनि ऐन कानुन नबताएको पिडित किरण श्रेष्ठले बताउनुभयो । सहकारी पिडितको सवालमा सरकार निकै मौन रहेको र झन आफुहरुलाई पिडित बनाएको उहाँ सुनाउनुहुन्छ । ‘हामीलाई सहकारी सञ्चालकले ठगे । पैसा पोको पारेर लगे पिडित बनाए तर, ति सहकारीका सञ्चालक भन्दा वेशी पिडित त हामी हाम्रो राज्य व्यवस्थाबाट भएका छौं, यो निकायबाट पिडित भएका छौ किन राज्यले केहि गर्दैन ? हुँदा हुँदै संसदीय छानविन समितिमा समेत राजनिति छिर्न लागि सक्यो । एक अर्कालाई बचाउन समिति गठन गर्ने विषयको आड नबनाइयोस्’ उहाँले भन्नुभयो, ‘अचम्म लाग्छ हामी डेढदुई वर्षदेखि हामी पोखराको सडकमा छौं । मान्छे पनि मरिसके पिडा धेरै छ । पिडितलाई न्याय दिदाँ सरकारको के जान्छ ?’ जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको तथ्याङ्कअनुसार हालसम्म ७ वटा सहकारी विरुद्ध ठगीको मुद्धा परेको छ । शिव शिखर बहुउदेश्यीय सहकारीमा बचतकर्ताको ४३ करोड, ५९ लाख ८६ हजार दुई सय २४ रुपैयाँ, इमेज बचत तथा ऋण सहकारीमा ५७ करोड ९४ लाख तीन हजार ८५, सुर्यदर्शनमा एक अर्ब ११ करोड, ३४ लाख ४३ हजार ४५, बलिदानीमा चार करोड २८ लाख ५३ हजार ६०, मित्रमिलनमा २० करोड ५० लाख ८२ हजार १९, विन्दवासिनीमा तीन करोड ८३ लाख ७१ हजार आठ सय ३१ रुपैयाँ तथा प्राइम सहकारीमा एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ रुपैयाँ बचतकर्ताको अपचलन भएका छन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected