गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, मध्यावधी टार्न विश्वासको मत दिएको देवकोटाको दावी
- June 10, 2024
- 1845


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् ।
नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले प्रदेश सभा जोगाउन र मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्छ । देवकोटाले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री पाण्डेले सभाको विश्वास प्राप्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा (३) अनुसार जेठ १६ गते नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेससँग २७ मत छ । दुई सांसद भएको राप्रपाले बैठकमै विश्वासको मतदिने घोषणा गरेको थियो। स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र देवकोटाले पनि मुख्यमन्त्रीको पक्षमामतदान गरेका हुन् ।
प्रदेशको नीति तथा कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाउँदा एमाले सांसदहरुले नाराबाजी गरेका छन् । देवकोटाले पाण्डेलाई विश्वासको मत दिन गएपछि एमाले सांसदहरुले फ्लोर क्रस गर्नु संसदीय बिकृति भएको भन्दै नाराबाजी गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको बताए ।
निर्णायक रहेका पार्टीहरूले साथ दिएको बेला आफूले मत दिँदा सरकारसँगै प्रदेश सभा जोगिने देखेको र गण्डकी प्रदेश सभा बचाउनु मेरो पनि दायित्व सम्झेर मैले पार्टी केन्द्र र प्रदेशको निर्णय मुताविक मत दिएको हुँ।





