
पोखरा ।बाबा फ़ाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाईज बिच सम्झौता भएको छ । विहिवार पोखरा-९, बास्तोलाथरस्थित पोखरा पाटी प्यालेसमा आयोजित रोटरी क्लब अफ पोखरा प्याराडाईजको दोस्रो पदस्थापन समारोहको अवसरमा फ़ाउण्डेशन र क्लबबीच रोटा बर्ष २०२४/२५ मा सहकार्य गर्ने गरी सम्झौता भएको हो ।
फ़ाउण्डेशन र क्लबको संयुक्त आयोजनामा पोखरा आसपासका क्षेत्रहरूमा साक्षरता, खानेपानी, सरसफाई, वातावरण लगाएतका क्षेत्रमा संयुक्त रूपमा कार्य गर्ने गरी उक्त सम्झौता गरिएको फ़ाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए ।
सोही सम्झौता पत्रमा रोटरी क्लब अफ पोखरा प्याराडाइजको तर्फबाट रोटा बर्ष २०२४/२५ का अध्यक्ष देवेन्द्रराज पराजुली र बाबा फाउन्डेसन नेपालका तर्फबाट संस्थापक अध्यक्ष दिलीपराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बाबा फ़ाउण्डेशनका अध्यक्ष श्रेष्ठ र रोटरी क्लब अफ पोखरा प्याराडाईजका अध्यक्ष पराजुलीले यस सम्झौताले पोखरा र वरपरका क्षेत्रहरूमा स्वास्थ्य, शिक्षा, बालबालिका, वातावरण र सरसफाइका क्षेत्रमा सहकार्य गर्न टेवा पुग्ने बताए ।
यसै बीच रोटरी क्लब अफ पोखरा प्याराडाईजको दोस्रो पदस्थापन सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लब पोखरा प्याराडाईजका निवर्तमान (संस्थापक) अध्यक्ष सुशीला केसी अधिकारीले रोटा बर्ष २०२४/२५ का अध्यक्ष देवेन्द्र पराजुलीलाई पदभार हस्तान्तरण गरेकी हुन् ।

पदस्थापनसँगै क्लब अध्यक्ष पराजुलीलाई पदस्थापन अधिकृत एवं डिष्ट्रिक्ट गभर्नर ईलेक़्ट कोईरालाले शपथ गराएका थिए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष पराजुलीले नै शपथ गराएका थिए ।
क्लबका अध्यक्ष देवेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न पदस्थापन समारोहमा रोटरीका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद कोईराला, पूर्व डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठ, एसिसेन्ट गभर्नर रमेश प्रसाद कोईरला, गण्डकी एरियामा रहेका विभिन्न क्लबका अध्यक्ष एवं विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
सो अवसरमा क्लबद्वारा प्रकाशित वार्षिक समीक्षा सहितको स्मारिका कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएतले लोकार्पण गरेका थिए ।
समारोहमा डिजीइ कोईराला पिडिजी श्रेष्ठले रोटरी सधैं सत्य र न्यायको पक्षमा उभिने भन्दै आफ्नै सक्षमतामा आधारित समाजसेवा नै रोटरीको मूलमन्त्र भएको बताउदै समाज सेवा रोटरी अभियानमा एकमात्र उद्देश्य भएको चर्चा गरे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष सुशीला केसी अधिकारीले आफ्नो कार्यकालमा सहयोग गर्ने विभिन्न जिम्मेवारीमा रहि उत्कृष्ट कार्य सम्पादन गर्ने क्लब पदाधिकारी एवं सदस्यलगाएत विभिन्न सहयोगी सामाजिक संघ, संस्थाका प्रतिनिधिलाई मायाको चिनोले सम्मान गरेकी थिईन् ।












