डिएलए नेपालले स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन बिषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम गर्ने
- August 7, 2024
- 819
पोखरा । डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए नेपाल)को आयोजना र डेमोक्र्याटिक लयर्स एशोसिएशन गण्डकी प्रदेशको सह–आयोजनामा प्रदेशस्तरीय संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन बिषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
२६ गते शनिवार होटल दिप सागर न्यूरोड पोखरामा सम्पन्न हुने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रममा प्रदेशस्तरीय संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन बिषयक कार्यशाला गोष्ठीको आयोजना गरिएको डिएलए नेपालका बरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले बताए ।
वरिष्ठ अधिवक्ता समेत रहेका ढकालका अनुसार गण्डकी प्रदेशका स्थानीय सरकारका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र वडाध्यक्षलाई कानुनी तथा वित्तीय सुशासन सम्बन्धमा कानुनविद् डिएलए नेपालका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनाल एवं अर्थविद् बाबुराम सुवेदीले सहजिकरण गर्ने छन् ।
स्थानीय सरकार तथा तहगत सरकारको अन्तर सम्बन्ध र कानुन निमार्ण, न्यायीक समितिको न्याय सम्पादनमा समस्या र चुनौती, स्थानीय सरकार एवं कर्मचारी व्यवस्थापन र योजना बजेट कार्यान्वयन लगाएतका बिषयमा छलफल एवं अन्तरकृया हुने डिएलए नेपाल कास्कीका अध्यक्ष कपिलमणी दाहालले जानकारी दिए ।
डिएलए नेपालले स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र, समाजवाद, मानवअधिकार, संवैधानिक सर्वोच्चता, विधिको शासन, सामाजिक न्यायको सिद्धान्त एवं जवाफदेही न्यायपालिकाको निमित्त आवाज उठाउँदै आएको डिएलए नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सीले बताए ।
डिएलए नेपालका अध्यक्ष सीताराम के.सी.को अध्यक्षता तथा नेपाली काग्रेसका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा गण्डकी प्रदेशका स्थानीय सरकारका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र अध्यक्ष गरी करिव २ सयको सहभागिता रहने आयोजकले जनाएको छ ।
डिएलए नेपालले यसअघि यस्तै कार्यक्रम कोशी, मधेश र बाग्मती प्रदेशमा सम्पन्न गरी सकेको छ ।