पोखरामा पनि मनाईयो ७८औं स्वतन्त्रता दिवस, भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्ण : मन्त्री थापा
- August 15, 2024
- 360
पोखरा । पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय पोखराले ७८औँ स्वतन्त्रता दिवस मनाएको छ । कार्यालयले विहिवार गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाइएको हो ।
भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छ । १९० वर्षसम्म अंग्रेजहरुले गरेको शासनपछि आजको दिनमा भारत स्वतन्त्र भएको थियो ।
पेन्सन वितरण कार्यालयका निमित्त कार्यालय प्रमुख मेजर नारायंकर अश्विनी कुमार भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री थापाले भारतीय स्वतन्त्रताको लडाईमा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व भएको बताए । “भारतको विकासमा नेपालको ठूलो योगदान छ, चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।”, उनले भने ।
मन्त्री थापाले नेपाल भारतको एउटा महत्वपूर्ण असल छिमेकी भएको पनि बताए । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण भएको मन्त्री थापाको भनाई थियो । भारतले द्विपक्षीय सहयोग अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको सहयोगको मन्त्री थापाले खुलेर प्रशंसा गरेका थिए ।
७८ वर्षअघि अंग्रेज साम्राज्यबाट अलग भएको भारत अहिले एउटा बलियो गणतन्त्रात्मक विश्व शक्तिको रूपमा स्थापित भएको छ । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा भारतको सफलता संसदीय राजनीतिक पद्धतिको स्थायित्वको उदाहरण मानिन्छ ।
कार्यक्रममा भारत स्वतन्त्रताका लागि योगदान दिएका भूपू सैनिक, वीर नारी र बिधालयमा अध्यनरत उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गरिएको जनसम्पर्क अधिकृत भारतभूषण पाण्डेले बताए । कार्यक्रममा नेपाल रभारतको सांस्कृतिक पहिचान झल्कने प्रस्तुति प्रस्तुत भएको थियो ।