पोखरा । लायन्स क्लव अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखराको केदारेश्वर मन्दिर परिसर कोमागाने पार्कमा चौतारा निर्माण तथा वृक्षारोपण गरेको छ । बिहीबार आयोजित वृक्षारोपण कार्यक्रमको अवसरमा पारी क्लबले निर्माण गरेको चौतारा कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीलाई हस्तान्तरण गरेको हो ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाले लायन्स क्लव अफ इन्फर्मेशन टेक्नोलोजीद्धारा निर्माण गरेको चौतारा हस्तान्तरण गर्दै इन्फर्मेशन टेक्नोलोजीले नाम अनुसारको काम गरेको वताए । फेवाताल किनारमा रहेको कोमागाने पार्कमा निर्माण गरिएको चौताराले उक्त ठाउँमा घुम्न आउने पर्यटकलाई बिश्राम लिनका लागि सहज हुने र लायन्स क्लबले निकै मेहनतका साथ वृक्षारोपण गरी विरुवालाई हुर्काउन र संरक्षणका लागि समेत बारको ब्यवस्था गरेकोमा खुसी ब्यक्त गरे ।
सो अवसरमा वोल्दै कोमागाने पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले केदारेश्वर मन्दिर नजिकै रहेको कोमागाने पार्कमा लायन्स क्लबले चौतारा निर्माण संगै ब्यवस्थित रुपमा गुल्महरका विरुवाहरु रोपी कोमागाने पार्कको सौन्दर्य बढाउने काम गरेकोमा धन्यवाद ब्यक्त गरे ।
सूर्य पोख्रेलको संयोजकत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा ३० वटा गुल्महरको बिरुवा रोपिएको थियो भने विरुवाको संरक्षणको लागि समेत बांसको बार लगाइएको थियो । सो अवसरमा कोमागाने पार्क ब्यवस्थापन समितिका सदस्य हेमराज पहारी, डिष्ट्रिक्ट को-अर्डिनेटर प्रेम दहाल, क्लस्टर चिफ विष्णु श्रेष्ठ, डिजी प्रोग्राम चेयरपर्सन डासिराम सापकोटा, रिजन चियर पर्सन कृष्ण कुमार श्रेष्ठ, जोन चेयरपर्सन मात्रिका पोखरेललगाएतको उपस्थिती रहेको थियो ।
क्लवका अध्यक्ष दिनेश महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष राबत तामाङ गोम्जाले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्लबका सचिव मुकेश अर्यालले गरेका थिए ।