पोखरा । ‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै रास्ट्र शक्ति हो’ भन्ने नाराका साथ नेपाल ब्युटिसियन संघ गण्डकीले २१औ स्थापना दिवस आज पोखरामा मनाएको छ । नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेश समितिले बुधवार पृथ्वीचोकस्थित ट्रेड युनियन कांग्रेसको सभा हलमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माको प्रमुख आतिथ्यतामा केक काटेर स्थापना दिवस मनाएको हो ।
कार्यक्रम उद्घाटन पछि बोल्दै प्रमुख अतिथि शर्माले व्युटिसियन संघमा रहेका उर्जावान महिलाहरुको कारण संस्थाको भविष्य राम्रो रहने विश्वास व्यक्त गरे । कुनैपनि संस्थामा नेतृत्वकर्ताको सक्रियता र ईच्छाशक्तिमा संस्था र संगठनको गरिमा बढ्ने वताउँदै नेतृत्वलाई सशक्त भएर लाग्न सुझाव दिएका थिए ।
प्रदेश समितिको निर्वाचनतर्फ संकेत गर्दै शर्माले चुनावमा प्रतिस्पर्धा गरेपछि हारलाई स्वीकार गर्न तयार हुनु पर्नेमा समानान्तर समिति बनाउनु राम्रो नहुने बताए । उनले जित्नेले पनि दम्भ नदेखाई सबैलाई समेटन पनि सुझाव दिए । उनले थप्दै भने, हामी कहाँ नराम्रो रोग छ मिल्न खोजे पनि अरूले मिल्न नदिने परिपाटी छ नेतृत्वले बुझेर अघि बढ़नु पर्ने बताए ।
शर्माले ब्युटिसियन संघ बलियो भयो भने ट्रेड युनियन काँग्रेस बलियो हुने, ट्रेड युनियन काँग्रेस बलियो भए नेपाली काँग्रेस र नेपाली काँग्रेस बलियो भयो भने देशको लोकतन्त्र बलियो हुने दाबी गर्दै लोकतान्त्रिक पद्धतिको विकासका लागि पनि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए ।
नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेशका अध्यक्ष शर्मिला रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रेड यूनियन कांग्रेस कास्कीका उपाध्यक्ष संगीता पोखरेल, पोखरा महानगरपालिका वडा नं.१३ का वड़ा सदस्य सूचिता तामाङ, ट्रेड यूनियन कांग्रेस कास्कीका पूर्व सचिव केशब प्रसाद भट्टराई, ट्रेड यूनियन युवा समिति गण्डकीका अध्यक्ष राजेश बुढ़ा मगरले पार्टीका भातृ तथा शुभेच्छुक संघ संस्थाहरूको सक्रियता र निरन्तरताले नै पार्टीको सांगठनिक जीवनमा नयाँ उर्जा पैदा हुने वताउँदै संगठनमा प्रतिबद्धताका लाग्न सुझाव दिएका थिए ।