पोखरा / लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ ।
नव आदर्श सामुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लबलाई ३-१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।
पहिलो सेट २५-२३ ले हराएको एपिएफले दोस्रो सेटमा पनि २५-२३ कै जित हासिल गर्यो तर, तेस्रो सेटमा भने निकै पछि पर्यो । एक समय डायमण्डका सुमित्रा रेग्मीले लगातार सर्भिसमा अंक ल्याएपछि १६-९ बाट २०-९ को स्थितिमा पुगेको थियो । त्यसपछि डायमण्डले २५-१३ को जित हासिल गर्दै खेलमा फर्कियो । चौथो सेटमा भने एपिएफले पुनः लय समात्दै २५-१० ले हराउँदै उपाधि चुमेको हो ।
यस अघि लिगचरणको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३-० को सोझो सेटमा हराउँदै तालिकाको शीर्षस्थानमा पुगेको थियो ।
उपाधिसँगै एपिएफले नगद रु एक लाख ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता न्यु डायमण्डले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ । डायमण्ड गतवर्षको समेत उपविजेता हो ।
प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो हुँदै एभरेष्टले ५० हजार एक सय ११ रुपैयाँ हात पारेको छ । एभरेष्टले २५-१५, २५-२१ र २५-१७ ले हराएको थियो ।
यस्तै पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ । यस अघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३-२ सेटमा हराएको थियो । गलकोटले २७-२५, २५-२२ र २५-२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त गर्यो ।
भदौ १९ गतेदेखी चलेको प्रतियोगिताको महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता राउन्डरोविन लिगको आधारमा खेलाइएको थियो । लिगका दुइ शिर्ष टिम फाइनलमा प्रवेश गरेको थियो । गतवर्ष महिलातर्फ पुलिस र पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको थियो ।

