पोखराका १० वटा सामुदायिक विद्यालयहरूमा निःशुल्क चाइनिज भाषाका कक्षा सञ्चालन
पोखरा । पोखराका १० वटा सामुदायिक विद्यालयहरूमा निःशुल्क चाइनिज भाषाका कक्षा सञ्चालन गर्ने सम्बन्धमा चिनियाँ दूतावास र पोखरा महानगरपालिका बिच समझदारी भएको छ । अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा १ वर्षसम्म १० वटा विद्यालयहरूमा चाइनिज भाषाका थप (अतिरिक्त) कक्षाहरू सञ्चालन हुनेछन् । जसका लागि १० जना भोलेन्टियर चाइनिज शिक्षक पोखरा आई पुगेका छन् ।
समझदारी अनुसार पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेम्जा, बिष्णुपादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा यही भाद्र २७ गतेदेखि निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन हुनेछ ।
यसले विद्यार्थीहरूको भाषागत ज्ञानमा थप टेवा पुग्ने विश्वास गरिएको छ । भूमण्डलीकरणको पछिल्लो परिवेशमा अध्ययन, अवलोकन र पर्यटन लगायतका विभिन्न व्यवसायीक क्षेत्रहरूमा भाषागत ज्ञानको निपुर्णताले व्यक्तिगत सबलीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । क्रमशः यसलाई विस्तार गर्दै लैजाने योजनामा महानगरपालिका रहेको छ ।