
पोखरा । नेपाल राष्ट्रिय यातायात व्यावसायी महासंघका अध्यक्ष विजय कुमार स्वाँरले यातायात क्षेत्रमा भएको अर्वौंको लगानीको संरक्षण राज्यले गर्नुपर्ने बताएका छन् ।
बुधवार पोखरा यातायात प्रालिको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै स्वाँरले यस्तो कुरा बताएका हुन् । उनले भने, ‘यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक छैन, अर्बौको लगानी रहेको अवस्थामा पनि राज्यले यो क्षेत्रमा कुनै पनि चासो दिन सकेको छैन, सरकार अविभावक हो, लगानीको संरक्षण गर्नु राज्यको दायित्व हो । ’यातायात क्षेत्र प्रत्यक्ष रुपमा जनताप्रति उत्तरदायी पेशा भएकाले पनि राज्यले संरक्षण गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
साधारण सभाको प्रमुख अतिथि समेत रहेका स्वारले यातायात क्षेत्रमा हिजोको प्रतिस्पर्धा र आजको प्रतिस्पर्धा धेरै फरक छ, अन्तर्राष्ट्रिय मापदण्डको सेवा यात्रुहरुलाई प्रदान गर्न यातायात क्षेत्र प्रविधि मैत्री हुन आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रमका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारले यातायात सम्बन्धी प्रस्ट नीति नल्याउँदा यातायात क्षेत्र समस्या ग्रस्त अवस्थामा रहेको बताए ।
सिटौलाले सरकारले कुनै अध्ययन र अनुसन्धान बिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भएको बताए । सरकारले सिण्डिकेटको नाममा अनुसन्धान बिना कम्पनीमा रूपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गर्दै सिटौलाले यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावक विहीन अवस्थामा रहेको भनाई राखे ।
उनले सवारी बीमाको विषयमा पनि स्पष्टता नभएकाले व्यवसायीहरु मर्कामा परेको बताउँदै राज्यले कानुनमा भएका व्यवस्थालाई व्यवहारमा लागू नगरेको उनको भनाई थियो । सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटाएर अनुसन्धान बिना कम्पनीमा रूपान्तरण गर्ने निर्णय गर्यो। त्यो निर्णयले यातायात क्षेत्र क्षतविक्षत भएको छ‚’ उनले भने, ‘यातायात क्षेत्र कम्पनीमा गएपछि जुन विधि र कार्यविधि बन्नुपर्ने हो‚ अहिलेसम्म बनेको छैन। अहिलेसम्म सरकारले कुनै कार्यविधि नबनाएको कारणले नागरिकताको आधारमा कम्पनी खडा भएको छ। त्यसले अस्वस्थ प्रतिस्पर्धा छ।’उनले सरकारसँग कुन सवारी साधन कहाँ जाने कहाँ नजाने कहाँ कस्तो सवारी साधन चलाउने भन्ने कुनै विधि पद्धति नभएको दाबी गर्दै विधि र पद्धति नभएका कारण पनि सडक दुर्घटना बढिरहेको बताएका थिए।
यातायात व्यावसायि राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐन कुमार शाहीले यातायात व्यावसायिका समस्यामा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए ।
साधारण सभामा पत्रकार, कर्मचारी र १२ कक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका यातायात व्यवसायीका छोरा र छोरीलाई सम्मान गरिएको थियो ।
पोखरा यातायात प्रा लि का अध्यक्ष देउ बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाउँपालिका कास्कीका अध्यक्ष देवी जंग गुरूङ, सल्लाहकार बसन्त कुमार प्रधान, पृथ्वीराजमार्ग बस संचालक कम्पनी प्रा लि का अध्यक्ष योगेन्द्र केसी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण प्रसाद ढुङगाना, प्रबन्ध निर्देशक बिजय पौडेल संचालक देबिप्रसाद कुइकेल लगाएतले बोलेका थिए ।






सम्बन्धित खवर















