0Shares

पोखरा । विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।

१११ औं विपी जयन्तीको अवसरमा पारी आयोजित बुधवार पोखरामा एक समारोहका बीच नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले उनिहरूलाई सम्मान गरेका छन् । जनही २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रबाट सम्मान उनिहरूलाई गरिएको हो ।

सम्मानित हुनेमा दुर्गादत्त पौडेल(नवलपूर), तीलबहादुर गुरुङ(गोरखा), सानुमाया गुरुङ(लम्जुङ), बुद्वीकुमार बतास(तनहुँ), राज घले(मनाङ), भोजराज भण्डारी(कास्की), वेदप्रकाश पनेरु(स्याङ्जा), रुद्रलाल उपाध्याय(पर्वत), गोविन्द कंडेल(बाग्लुङ) भैरवबहादुर हुमेल(म्याग्दी), कृष्णप्रसाद बरुवाल(मुस्ताङ) रहेका छन् ।                      

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं विपी पुत्र कोइरालाले विपीको चिन्तनलाई आत्मसात गर्न सकेमा काँग्रेस कहिल्यै पनि कमजोर बन्न नपर्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताको शासन गर्न जनताले नै पाउनुपर्छ भन्ने विचारका साथ स्थापित नेपाली काँग्रेसले विपीमा आदर्शलाई झुल्न नहुनेमा जोड दिए ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विपीले तत्कालीन समयमा अघि सारेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई पूर्ण रुपमा अवलम्बन गर्न नसकेका कारण काँग्रेस कमजोर बनेको बताए । स्थापनाकालीन आदर्शलाई व्यवहारमा उतार्दै अघि बढेमा काँग्रेस कसैसँग पनि झुक्नु पर्ने र सधैं जनताको विश्वास जितिरहने उनको भनाइ छ ।

कार्यक्रमका सभापति एवम् विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोल(मधु)ले पुस्तकालयका तर्फबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा विभिन्न तबरले योगदान गरेका व्यक्तिहरूलाई वर्षेनी सम्मान गरिदै आइएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्लेले विपी कोइरालाः प्रजातान्त्रिक समाजवाद र नेपाली काँग्रेसको आर्थिक कार्यक्रम विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाली काँग्रेस मुस्ताङका सभापति रोमी गौचन, नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ एवम् सम्मानित व्यक्तिहरूले विपीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए । पुस्तकालयका सचिव सूर्य क्षेत्रीको सञ्चालनमा रहेको कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले पुस्तकालयका सम्बन्धमा प्रकाश पार्दै धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected