पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो क्याबिनेट बैठकको तयारी पूरा भएको छ । शुक्रवार र शनिवार गरी दुई दिनसम्म संचालन हुने बैठकको पहिलो दिन पोखराको माटेपानीस्थित एसआर केसी क्याटरिङको सभा हलमा हुनेछ भने दोस्रो दिन खुला सत्रको कार्यक्रम पोखरा सभागृहमा हुनेछ ।
शुक्रवार क्याविनेट अफिसरहरूको बिजनेस सेसन सहित कार्यसम्पादनको मूल्याङकन र आगामी दिनमा डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरुले समाजमा गर्नुपर्ने सामाजिक उत्तरदायित्वका बारेमा समीक्षा हुनेछ । दोस्रो दिन शनिवार सम्पूर्ण लायन्स सदस्य सम्मिलितको फ़ेलोशिपसहितको खुला सत्रमा उत्कृष्ट कार्य गर्ने लायन्स सदस्यहरूलाई सम्मान सहित कार्यक्रम समापन हुने क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारीले बताए ।

डिष्ट्रिक्टले तीन महिनाको (जुलाई, अगस्ट र सेप्टेम्बर) समयावधिमा समाज सेवाका लागि गरेको गतिविधिहरुको समीक्षा र भावी रणनीति बारे लायन्सका विभिन्न पदाधिकारी बीच छलफल हुनेछ । बैठकमा डिष्ट्रिकका पदाधिकारीसहित क्लस्टर चिफ, रिजन र जोन चेयरपर्सनहरुले आ–आना प्रतिवेदन प्रस्तुत गरी भावी कार्यनितिका वारेमा क्याबिनेट पदाधिकारीलाई जानकारी गराउने र त्यस्को सम्पूर्ण तयारी सकिएको सेक्रेटरी तिवारीले बताए ।



बैठक सम्पन्न गर्नका लागि डिष्ट्रिक्ट चिफ एडभाइजर शैलेन्द्र मोहन भट्टराई संयोजकत्वमा मूल आयोजकसमिति गठन गरिएको छ । सो समितिमा विभिन्न १९ उपसमिति बनाइएको छ ।

समितिको सहसंयोजकमा डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त र फाइनान्सियल एडमिनिट्रेटर सूर्यनारायण बराल रहेका छन् भने को–चिफ एडभाईजरहरू ऋषि गिरी सचिव, शान्ता थापा भण्डारी कोषाध्यक्ष र सहसचिवमा अमृत शोभा खत्रीलाई जिम्मेवारी दिईएको छ ।
बैठकमा डिष्ट्रिक्टका १ हजार ५ सय लायन्स सदस्य सहभागी हुने अनुमान गरिएको दोस्रो क्याबिनेट बैठक मूल आयोजक समितिका संयोजक शैलेन्द्र मोहन भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार बैठकको सबै तयारी पूरा भएको छ ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न हुने क्याविनेट बैठकको दोस्रो दिनमा डिष्ट्रिक्ट ३२५ आई नेपालका १२ जिल्लाका लायन्स लिडर एवं सदस्यको उपस्थिति रहने क्याबिनेट बैठक मूल आयोजक समितिका सह–संयोजक हरिराज पन्तले बताए ।
डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगानाको यस बर्षको नारा ‘मानवता पहिलो प्राथमिकता’ अन्तर्गत रहेर कार्यक्रम अघि बढाइ रहेको डिष्ट्रिक्टले प्राप्त गरेको उपलब्धिप्रति प्रशन्नता व्यक्त गरेका छन् । डिष्ट्रिक्टमा दुई सय २ सय २८ लायन्स क्लब आवद्ध छ भने सदस्य संख्या पाँच हजारको हाराहारीमा रहेका छन् ।
सेवा र सदस्यताका हिसाबले संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल रहेको क्याबिनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले जानकारी दिए ।




