50Shares

पोखरा । ‘स्टार्स सामूहिक नृत्य प्रतियोगिता २०८१’ को उपाधी क्रबा आजी सिङ्दी तमू समाज पोखराले जितेको छ ।
सोमवार सम्पन्न प्रतियोगितामा कोल्मा बाहाकोट तमू समाज द्वितीय र चिउली पार्चे तमू समाज तृतीय बनेको छ । प्रतियोगितामाप्रथम हुन सफल क्रबा आजी सिङ्दीले ५० हजार रुपैयाँ पाएको छ । त्यस्तै, द्वितीय बनेको कोल्मा बाहाकोटले २५ हजार र तृतीय बनेको चिउली पार्चेले १० हजार प्राप्त गरे । प्रतियोगिताको निर्णायकमा मनकुमार श्रेष्ठ, रविन गुरुङ र प्रीति गुरुङ थिए ।

नृत्य क्षेत्रमा क्रियाशील स्टार्स स्टुडियो प्रालि पोखराले संस्थाको आठौं वार्षिकोत्सव तथा स्टार्स फाउन्डेसन नेपालको छैटौं वार्षिकोत्सवको अवसरमा ३५ वर्ष माथिको उमेर समूहलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरेको थियो ।

विजयी समूहलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्य खड्का ‘बिखर्ची’, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कूलपति पदमराज ढकाल, आयोजक संस्थाका अध्यक्ष जसमाया गुरुङ (जसु) लगायतले नगद र प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रतियोगितामा सहभागी प्रतियोगीमध्ये सबैभन्दा बढी उमेरका महिलातर्फ सिङ्दी समाजका ६२ वर्षीया हाइकुमारी गुरुङ र पुरुषतर्फ दुरा सेवा समाजका ६९ वर्षीय भीमबहादुर दुरालाई सम्मान गरिएको थियो ।

यस्तै, गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को ८ औं अधिवेशनबाट निर्वाचित राजबहादुर गुरुङ (राजेश) गुरुङ नेतृत्वको कार्य समिति र कम्बोडियाका दरारिथ टिभ (वल्र्ड साइक्लिस्ट) लाई पनि सम्मान गरेको थियो । कार्यक्रममा स्टार स्टुडियोका कलाकारहरु साथै गायक राजबहादुर गुरुङ, एमडी काफ्लेलगायतले मनोरञ्जन दिलाएका थिए ।

स्टार्स स्टुडियो प्रालि तथा स्टार्स फाउन्डेशन नेपालका अध्यक्ष जसमाया गुरुङ (जसु) को अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका कोषाध्यक्ष दीपक गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रोशनी गुरुङले गरेकी थिइन् ।

यस अघि सम्पन्न माध्यामिक विद्यालयस्तरीय ‘स्टार्स चित्र प्रतियोगिता’ को पुरस्कार पनि सोही दिनमा वितरण गरिएको थियो । प्रतियोगितामा प्रथम विभूति शिक्षा सदन स्कुल कक्षा ९ मा अध्ययनरत रीयाना थापाले जितेकी थिईन् । थापाले १० हजार रुपैयाँ हात पारेकी हुन् । प्रतियोगितामा कुम्दिनी होम्स मावि कक्षा ११ मा अध्ययनरत अविश्ना पालिखे फस्ट रनर्स अपले ७ हजार, सेकेन्ड रनर्स अप बनेकी एसओएस हर्मोन माइनर स्कुल कक्षा ९ मा अध्ययनरत जेसिका श्रेष्ठले ५ हजार, थर्ड रनर्स अप बनेका भास्कर मेमोरियल स्कुल कक्षा ९ मा अध्ययनरत सुवाश्ना गुरुङ र वेसलाइन एकेडेमी स्कुल कक्षा १० मा अध्ययनरत सोफिया रसाइलीले जनही नगद २ हजार ५ सय रूपैयाँ प्राप्त गरेका छन्  ।

पोखरामा न्युरोडमा कार्यालय रहेको स्टार्स स्टुडियोले नेपाली मौलिक लोक संस्कृति साथै सांस्कृतिक नृत्यहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ । यस्तै, मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा काम गर्दै आएको छ । स्टार्स फाउन्डेसनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

50Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected