
पोखरा भ्यूज
पोखरा, ८ असोज । लायन्स क्लब अफ पोखरा बाराही टाउनको छैटौं स्थापना दिवस सामुदायिक बिधालयमा मनाएको छ ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाको प्रमुख आतिथ्यतामा पोखरा–२३, ठुलाखेतस्थित सिद्वबराह आधारभुत बिधालयमा एक कार्यक्रमका बीच क्लबले स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसमा बोल्दै प्रमुख अतिथि ढुंगानाले महिला मात्रको क्लब बाराही टाउनले बिगत ५ बर्ष देख़ि सामाजिक एवं मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको र आगामि दिनमा पनि सामाजिक क्षेत्रको आफ्नो यात्रामा अझै परिष्कृत ढंगले निरन्तरता दिदै जानेमा विश्वस्त रहेको बताए ।

क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक्ट एम्बासडर कृष्ण श्रेष्ठ (रोजी)ले क्लब स्थापना गर्दाका आफ्नो अनुभव सुनाउदै स्थापना दिवसको दिनमा प्रत्येक बर्ष यस बिधालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्टेसनरी, स्कूल ब्याग तथा ड्रेस बितरण गरी आफ्नो क्लबको चार्टर डे मनाईदै आएको बताईन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ (रोजि) लाई क्लबका तर्फबाट बिशेष सम्मान गरिएको थियो भने क्लबका सदस्यहरुलाई मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष चन्द्र नगरकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरहरू शैलेन्द्रमोहन भट्टराई, हरिराज पन्त, शान्ता थापा, ऋषि गिरी, टंकराज अधिकारी, सूर्य चापागाई, युवराज खनाललगाएतको उपस्थिति रहेको थियो ।
सन २०१९ मा स्थापना भएको क्लबमा संस्थापक अध्यक्ष रोजी सहित बर्तमान डिजी प्रोग्राम चेयरपर्सन आरती अधिकारी, सुकमाया गुरूङ, गंगा शर्मा केसी, ईन्शोभा गुरूङ अध्यक्ष भई क्लबको नेतृत्व लिइ सकेका छन् ।

क्लबका सचिव रिता रानाको संचालनमा रहेको उक्त कार्यक्रममा क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक डिलकुमारी पराजुलीले महानगर भित्र रहेर पनि पिछड़िएको यस क्षेत्रको स्कूलमा बिधालय भवनको रंगरोगनदेखि लिएर बिधार्थीलाई स्कूल झोला ड्रेस कपि कलम उपलब्ध गराएकोमा लायन्स क्लब बाराही टाउन साक्षात भगवानको रूप आएको महशुष गरेको भनाई राख्दै सहयोगी मनहरूप्रति आभार सहित धन्यवाद व्यक्त गरेकी थिईन् ।








