
पोखरा भ्यूज

पोखरा । नेपाली काँग्रेसका नेता एवं पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरिक अभिनन्दन गरिएको छ ।
पार्टी र विचार भन्दा माथि उठेर नागरिकका प्रत्यक्ष सरोकार र विकास निर्माणका क्षेत्रमा महत्वपुणर् योगदान पुर्याएको भन्दै, पोखरा-१६, तुम्केमा रहेको नमुना क्लवले नेता खड्कालाई विशेष कार्यक्रमका विच नागरिक अभिनन्दन गरेको हो ।
पोखरा १६ को प्रवेशद्वार केआई सिंह पुलदेखि महेन्द्र गुफासम्म बाजागाजा गरी खड्कालाई विशेष प्रकारले सजाईएको गाडीमा राखी र्याली सहित नगर परिक्रमा गराईएको थियो भने महेन्द्र गुफादेखि तुम्केसम्म पैदल यात्रा गरिएको थियो ।
सडकका दायाँ वायाँ रहेका हजारौं सर्वसाधारण नागरिकले नेता खड्कालाई फुल, माला र अविर लगाएर सम्मान गरेका थिए भने सर्वसाधारणले आ आफ्नो घर अगाडी र चोक चोकमा फुलको घडा राखी स्वागत समेत गरेका थिए ।
र्याली र पैदल यात्रापछि आयोजित कार्यक्रममा खड्कालाई वयोवृद्घ समाजसेवी सोमवहादुर गुरुङ, मुक्तिप्रसाद भट्टराई, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना र क्लवका अध्यक्ष मीनवहादुर गुरुङले अभिनन्दनपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
कार्यक्रममा पुर्व मन्त्री खड्काले जनताको मन जित्ने गरी आफुले कार्यकाल पुरा गरेको र अझै जनताको पक्षमा निरन्तर लागि रहने प्रेरणा प्राप्त गरेको बताए ।
क्लवका अध्यक्ष मीनवहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका पुर्व अध्यक्ष एवं आजिवन सदस्य जीवन आचार्य, हिमालय क्लवका अध्यक्ष मोहनवहादुर थापा, क्लवका सहसचिव दिपकवहादुर केसी लगायतले वडाको समग्र विकासमा नेता खड्काले पुर्याएको योगदानको प्रशंसा गर्दै जनप्रेमी नेताले सधैं नागरिकको मन जित्ने वताएका थिए । अन्य नेतालाई खड्काको सिको गर्न र देश तथा नागरिकको पक्षमा काम गर्न सुझाव समेत दिएका छन् ।
संघीय सांसद हुँदा महिला, वालवालिका तथा समाज कल्याण मन्त्री र पछि गण्डकी प्रदेश सरकारका भौतिक योजना, पुर्वाधार विकास र यातायात व्यवस्था मन्त्री वनेका खड्काको कार्यकालमा पोखरा १६, १९ र २० नम्वर वडामा विकास निर्माण, खानेपानी, सामुदायिक भवन, महिला शसक्तिकरणका क्षेत्रमा निकै फड्को मारेको थियो । उनको कार्यकालमा २१ वटा पक्की पुल, १२ वटा झोलुङ्गे पुल, ५५ दशमलव २५ किमि सडक कालोपत्रे, ४९ दशमलव २ किमी सडक ग्रावेल भएका थिए भने १ अर्व २२ करोड राजश्व संकलन समेत भएको थियो ।
अमला विसौनी घार्मी आलेवारी सडक, घार्मीखोला अर्मलाकोट सडक, जुम्लेटी हरिपाउँ सडक लगायतका अधिकांश ग्रामिण सडकको स्तरोन्नती तथा कालोपत्रे, ढलान गर्न उनको भुमिका रहेको वताईएको छ ।
पोखराको यातायात व्यवस्थामा समेत खड्काको कार्यकालमा सुधार आएको वताईएको छ ।पोखराका दुर्गम वडाको रुपमा परिभाषित भएका अधिकांश वडामा उनको कार्यकालमा भारी वजेट विनियोजन गरी विकासको नमुना प्रस्तुत गरेका थिए ।





