
पोखरा भ्यूज
पोखरा, २ कार्तिक । श्री घारीपाटन जनजागृति बाबा–आमा समूहले पोखरा वृद्धाश्रममा बेलुकाको खाना खुवाएको छ । समूहले शुक्रवार वृद्धाश्रममा दैनिक उपभोग्य खाद्यान्न सामग्री उपलब्ध गराई आश्रममा आश्रित ४६ आमाबुबा र दश सेवकसेविकासँगै समूहका सदस्यहरूले समेत सँगै खाना खाएका थिए ।
समूहले चामल, दाल, तेल, नुन, आलु, खसीको मासु, पनीर, टमाटर, बोडी, धनिया, प्याज, खुर्सानी, स्कुश, लौका, फर्सी, मरमसला उपलब्ध गराएको समूहका सचिव खिमा भण्डारीले जानकारी दिईन् । त्यस्तै, समूहले दुध, डाईजेस्टिक बिस्कुट, लुगा धुने साबुन, सरफ, फिनेल, हर्पिक, नुहाउने साबुन, हात धुने झोल साबुनलगायत करिव ४० हजार बराबरका विभिन्न सामग्री बृदाश्रममा उपलब्ध गराएको सचिव भण्डारीले बताईन् ।

घारीपाटन जनजागृति बाबा–आमा समूह अध्यक्ष चम्पा सिंह गुरूङको अध्यक्षता कार्यसमिति सदस्य ज्ञानेन्द्र जैसी सुवेदीको संचालन रहेको कार्यक्रममा समूहका सदस्यहरूले आश्रममा आश्रित बाबा–आमासँग नाचगान गरी रमाईलो समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष चम्पा सिंह गुरूङले समूहका सदस्यहरूबाट संकलित रकमबाट आश्रममा खाना खुवाईएको जानकारी गराएका थिए । गुरूङले दिएको जानकारी अनुसार समूहका कोषाध्यक्ष बुद्वी बहादुर लाम्गादेले दुई हप्ता अघि सम्पन्न आफ्ना छोरा सुमन लाम्गादेको बिवाहको उपलक्ष्यमा नगद २० हजार, त्यस्तै अन्य सदस्यहरूबाट कोईसँग ५ हजार, २ हजार, एक हज़ार संकलन गरिएको समेत जानकारी दिएका थिए।
समूहले नजिकदै गरेको तिहारमा देउसी भैलोको आयोजना गर्नेछ, अहिले संकलन गरिएको रकमबाट बचेको रकम र देउसी भैलोबाट उठेको रकमबाट आश्रममा आश्रित आमाबुबाका लागि न्यानो कपड़ा उपलब्ध गराउने प्रतिबद्वता अध्यक्ष गुरूङले व्यक्त गरेका थिए ।









