
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टिमले पार्टी कार्यालयबाट पक्राउ गरेको हो । प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुँदै पोखरा लैजाने भएको छ ।
पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका छन् ।
उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए ।
उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए । छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछानेले गितेन्द्रबाबु (जीबी) राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो।
संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौ पुगेर उनीसँग बयान लिएका थियो। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।
सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत अझै फरार छन्।









