
पोखरा भ्यूज
पोखरा । आजबाट यमपञ्चक सुरु भएको छ। नेपालीहरूको दोस्रो महत्त्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ । यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन् ।
यमपञ्चकको पहिलो दिन आज धन त्रयोदशी अर्थात् धनतेरस । विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ । धन्तेरसको व्रत बसेर पवित्र मनले अनि शुद्ध चित्तले पूजाअर्चना गर्ने चलन छ ।
धन्तेरसको दिन कमलको पुष्पा सनमा बसेकी माता लक्ष्मीजी र गणेशजीको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी मानिन्छ । मूर्तिलिँदा ध्यान दिनुपर्ने कुरा के छ भने माता लक्ष्मीजी कमलको पुष्पा सनमा बसेकै हुनुपर्दछ, उभिएको हुनुहुँदैन ।यसो गर्नाले अन्नले भरिपूर्ण तथा स्थायी लक्ष्मीको बास हुन्छ ।
धन्तेरसमा भाँडाकुँडा खरिद तपाईं धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दै हुनुहुन्छ भने जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुनकिन्नु अत्यन्त लाभदायी हुनेछ । धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा (ईशान कोणमा) लगेर राख्नुपर्दछ ।
यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन । अतः आफ्नू लागि मात्रराख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई तपाइको घरमा विराजमान हुनुहुनेछ । ध्यान दिनुस् धनत्रयोदशीमा कालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नहँदैन । धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गोधनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँलक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।
आजको दिनबाट लक्ष्मी उत्सव सुरु हुने भएको हुनाले आज पनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्त्वपूर्ण मानिन्छ।








