43Shares

पोखरा भ्यूज

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य सम्पन्नताकी देवी लक्ष्मीपूजा मनाइँदैछ । 

सफासुग्घर लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज घर सफासुग्घर लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंशीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने चलन छ । कोठासम्म गाईको गोबर रातोमाटोले लिपपोत गरेर चामलको पीठो अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणासमेत दिने चलन छ । आज घरमालक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएरअलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको आगमन होस्भनी कामना गर्ने गरिन्छ 

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य  पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन छ।

43Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected