
पोखरा भ्यूज

पोखरा । नेपाल टुर अन्तर्गत शुक्रवार पोखरामा हुने कार्यक्रमका लागि युवा पुस्तामाझ लोकप्रिय गायक सज्जन राज वैद्य पोखरा आइपुगेका छन् । गायक वैद्यले ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत पोखराको वाराही घाटमा लाइभ प्रस्तुति दिनेछन् ।
उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी पोखरामा स्वागत गरेका हुन् । गायक वैद्यलाई नगर प्रमुख आचार्यले पोखरा संसार कै एक उत्कृष्ट पर्यटन गन्तव्य सहर हो भन्ने सन्देश गीतसङ्गीत मार्फत दिन अनुरोध गरे । हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले अनुपम रहेको प्रमुख आचार्यले बताए । गीतसङ्गीतमा प्रचारको अविश्वसनीय शक्ति हुने भएकोले पोखरालाई विश्व बजार प्रवर्द्धन गर्न वैद्य जस्ता कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।
अमेरिकाको न्युयोर्क बस्ने गायक वैद्यले आफ्नो हरेक भ्रमणमा आफू पोखरा आउने गरेको सुनाए । पोखरा छोट्टो समयका लागि भए पनि अनिवार्य रूपमा आउने गरेको उनले बताए । पोखरा आफूलाई निकै सुन्दर लाग्ने उनको भनाई थियो ।
आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा जारी टुरको पोखराको व्यवस्थापन भने प्रचार नेपालले गरिरहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ। ‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन लागेको तेस्रो कार्यक्रम हो ।
वैद्यका ‘हवाई जहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै रुचाएका गीतहरू हुन् ।





