
पोखरा भ्यूज
पोखरा । सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो १३औं स्थापना दिवस विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाएको छ । क्लबले विहिवार पोखरा–८, सिमलचौरस्थित श्रीराम आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्दै स्थापना दिवस मनाएको हो ।
क्लबले विद्यालयका कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई स्टेशनरी र खेलकुदका सामग्री वितरण गरेको हो । स्टेशनरी सामग्री मध्ये १२ दर्जन कपी बाबा फ़ाउण्डेशन नेपालले उपलब्ध गराएको क्लबका पूर्व अध्यक्ष एवं बाबा फ़ाउण्डेशन नेपालका सचिव टंकराज अधिकारीले बताए ।

उक्त सामग्री कार्यक्रमका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, क्लबका संस्थापक अध्यक्ष सुदीपराज ढुङगाना क्लब अध्यक्ष दीपेन्द्र चालिसे लगाएतले बिधालय ब्यवस्थापन समितिका अध्यक्ष मुक्तिराम चालिसे, प्रधानाध्यापक तिर्थराज न्यौपाने, सहायक प्रधानाध्यापक कल्पना पौडेल रेग्मीलाई हस्तान्तरण गरेका थिए ।

क्लबले विगत १० वर्ष यता स्थापना दिवस अनावश्यक खर्च गर्ने क्रमलाई परिवर्तन गर्दै विभिन्न सामाजिक कामगरी मनाउंदै आएको क्लबका द्वितीय उपाध्यक्ष रविकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर राम बसेल, डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराईले फजुल खर्च गरी स्थापना दिवस मनाउनु भन्दा यस्ता खालका रचनात्मक कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने धारणा राखे ।

क्लबका अध्यक्ष दीपेन्द्र चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गाना, पूर्व अध्यक्षद्वय टंकराज अधिकारी/जिवन ढुङ्गाना, क्लबका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र बहादुर थापा लगाएतले क्लबले सामाजिक सेवाका क्षेत्रमा आँफूलाई अघि बढाइ रहेको बताउँदै यस अघिका बर्षमा विभिन्न विद्यालयमा पुस्तकालय स्थापना लगायत विविध पक्षमा सहयोग गरेको जानकारी दिए ।











