घारीपाटन जनजागृति बाबा आमा समूहद्वारा पोखरा वृद्धाश्रममा भोजन तथा न्यानो कपडा वितरण
पोखरा भ्यूज
पोखरा । श्री घारीपाटन जनजागृति बाबा आमा समूहको आयोजनामा पोखरा-१७, सितापाईलास्थित पोखरा वृद्धाश्रममा भोजन तथा न्यानो कपडा प्रदान गरिएको छ । शनिवार वृद्धाश्रममा समूहका पदाधिकारी घारीपाटनस्थित विभिन्न टोल सुधार समितिका अध्यक्ष एवं सदस्यहरू वृद्धाश्रम पुगेर भोजन तथा न्यानो कपडा प्रदान गरेका हुन् ।
यस अघि पनि जनजागृति बाबा आमा समूहले गत कार्तिक २ गते बृदाश्रममा पुगि भोजनसहित खाध्यान्न उपलब्ध गराएको थियो । त्यस समयमा समूहका अध्यक्ष चम्पासिंह गुरूङले जाडो महिना सुरु भएपछि बृदाश्रममा आश्रित बाबा आमाका लागि न्यानो कपड़ा उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरेका थिए । समूहले गएको तिहारमा देउसी भैलो मार्फ़त संकलन गरेको रकमबाट एक/एक सेट न्यानो कपड़ा उपलब्ध गराएको अध्यक्ष गुरूङले जानकारी गराएका थिए । सो अवसरमा बोल्दै अध्यक्ष गुरूङले बाबा आमा समूहमा अहिलेसम्म करिव ३५ प्रतिशत सदस्य आवद्व रहेकोमा त्यसलाई बढ़ाएर ५० प्रतिशत पुर्र्याउने पनि बताएका थिए ।
बृदाश्रममा आश्रित बाबा आमाको एक छाकको भोजनका लागि अध्यक्ष गुरूङका छोरी र ज्वाई हाल यु के निवासी सन्तोष गुरूङ र अन्जु गुरूङबाट २५ हजार नगद उपलब्ध गराएको समूहका सचिव खिमा भण्डारीले बताईन् ।
उक्त सामग्री कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका पूर्व सदस्य एवं स्थानीय बासी लालकाजी गुरूङ, समूहका अध्यक्ष चम्पासिंह गुरूङ, उपाध्यक्ष शर्मिला गुरूङ, सचिव खिमा भण्डारी, कोषाध्यक्ष बुद्धि बहादुर लाम्गादेलगाएतले बृदाश्रमका अध्यक्ष कुशुम केशब पराजुलीलाई हस्तान्तरण गरेका थिए भने बृदाश्रममा आश्रित १०६ वर्षीया नन्दलाल दाहाल र ९५ वर्षीया पार्वती पौडेललाई न्यानो कपडा प्रदान गरी प्रमुख अतिथि गुरूङले कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसर स्वतःस्फूर्त रूपमा समूहका सदस्यबाट कार्यक्रम स्थलमा संकलन भएको १५ हजार ५ सय ६५ रूपैयासमेत बृदाश्रमका अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, न्यानो कपड़ा मध्ये ऊनीको काने टोपी स्थानीय नेत्र बहादुर गुरूङ र लालूमाया गुरूङले सौजन्य गरेका थिए भने स्वर्गीय आमा सेती गुरूङको स्मृतिमा छोरा/बुहारी सोल बहादुर र सुमित्रा गुरूङबाट ५ हजार १ सयरूपैयाँ सहित समूहका अन्य सदस्यहरूबाट संकलन गरिएको कोषाध्यक्ष बुद्धि बहादुर लाम्गादेले बताए ।
सामग्री हस्तान्तरण पश्चात बोल्दै प्रमुख अतिथि पूर्व माननीय लालकाजी गुरूङले आफ्नो जन्मथलो कर्म थलो पर्वत भएपनि हालको बसाई घारीपाटन नै रहेको हुदाँ यहाँका दाजुभाई दिदीबहिनी नै मर्दा पर्दा काम लाग्ने भएकोले अन्य कार्यक्रम छोड़ी यस मानवीय सेवाका कार्यमा जोड़िएको बताए ।
गुरूङले असाह्य बाबाआमालाई बाबा आमा समूहले जाडोको समयमा पुण्य काम गरेको गरेको छ, ज्येष्ठ नागरिकको सेवा गर्नु परमधर्म हो, सहयोगको भावनामा लाग्नु भएको यस्ता रचनात्मक कार्य गर्न सदैव लाग्ने प्रेरणा मिलोस् भनि शुभकामना व्यक्त गरेका थिए ।
पोखरा बृदाश्रमका अध्यक्ष कुशुम केशब पराजुलीले सहयोगप्रति वृद्धाश्रम परिवारको तर्फबाट कृतज्ञता प्रकट गर्दै आगामी दिनमा निरन्तर सहयोग अपेक्षा गरेका थिए । पोखरा वृद्धाश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, आफ्ना दिवगंत आफन्तहरुको सम्झना तथा सेवाभावले सहयोगी दाताहरु पुग्ने गर्दछन् । निर्माण, अक्षयकोष, स्वास्थ्योपचार, दाहसंस्कार, आजीवन सदस्य लगायतका विभिन्न शीर्षकहरुमा नगद तथा लत्ता कपडा, खाद्यन्न सामग्री दिएर सहयोग गर्न सकिने वृद्धाश्रमका अध्यक्ष पराजुलीले जानकारी दिएका थिए ।
श्री घारीपाटन जनजागृति बाबा आमा समूहका अध्यक्ष चम्पासिंह गुरूङको अध्यक्षता, सचिव खिमा भण्डारीको संचालन, उपाध्यक्ष शर्मिला गुरूङको स्वागत मन्तव्य रहेको कार्यक्रममा राधाकृष्ण टोल बिकास संस्थाका अध्यक्ष क्याप्टेन ज्ञानेन्द्र जैसी सुवेदीले समूहका गतिविधि बारे प्रकाश पारेका थिए ।
सो अवसरमा समूहका सदस्यहरूबाट बृदाश्रममा रहेका ज्येष्ठ नागरिकलाई मनोरंजन दिनका लागि नाचगान पनि गराएका थिए ।