
पोखरा भ्यूज
पोखरा । पर्वत कुश्माका व्यवसायी दम्पती डासीराम अधिकारी र गिता अधिकारीले सडक दुर्घटनामा परेकी सरिता चापागाईंलाई आर्थिक सहयोग प्रदान गरेका छन् । अधिकारी दम्पतीले आफ्नो बैवाहिक सम्बन्ध गाँसेको २१औं बर्ष पुगेको अवसरमा गत बर्ष कार्तिक दुई गते कुश्मा नगरपालिकाको अर्मादीमा सडक दुर्घटनामा परेकी सरितालाई उपचारमा सहयोग मिलोस् भनि नगद ११ हज़ार १ सय ११ रूपैया आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका जोन ३ का जोन चेयरपर्सन समेत रहेका सामाजिक व्यक्तित्व डासीराम अधिकारीले डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगानाको रोहवरमा उक्त रक़म सरिता चापागाईका भिनाजु चिरन्जीवी उपाध्यायलाई पोखरामा उपलब्ध गराईएको हो । सो अवसरमा लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष धनराज बि पौडेलले उनको उपचारका लागि २ हजार ५ सय रूपैयाँ थप गरेका थिए ।
पर्वतको महाशिला गाउँपालिका–३ बालाकोटको बालारानी माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक सरिता चापागाईँ सवारी दुर्घटनामा परेकी थिईन् । दशैँको घटस्थापनाको दिन बागलुङ मन्दिरमा पूजाआजा गर्नको लागि भन्दै श्रीमान् सुरज पौडेलले चलाएको मोटरसाइकललाई जिपले ठक्कर दिएको थियो । श्रीमान् र बीचमा बसेकी सानी छोरीलाई सामान्य चोट लागे पनि सरितालाई भने गम्भीर चोट लागेको थियो । हाल उनको पोखरामा उपचार भईरहेको छ ।
सरिताको उपचारमा हालसम्म ६० लाख भन्दा धेरै रकम खर्च भइसकेको उनका आफन्तले बताए । उपचार अझैपनि निरन्तर गर्नुपर्ने र फेरि पनि मोटो रकम खर्च हुने भएका कारण इच्छुक सहयोगदाताहरूमा सहयोगको अनुरोध गरिएको छ ।











