
पोखरा भ्यूज
पोखरा, ६ पुस । नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन (डिएलए ) का केन्द्रीय अध्यक्ष सिताराम केसीले न्याय पद्धतिमा सुधार र व्यवस्थित न्याय प्रणालीमा लोकतान्त्रिक कानून व्यवसायीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन गण्डकी प्रदेशस्तरीय भेलालाई बिहीबार पोखरामा सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा देखिएको विकृति र विसंगति हटाउन कानून व्यवसायीको खवरदारी नियमित रुपमा हुनु पर्नेमा जोड दिएका थिए ।
आउँदो चैत महिनामा हुने नेपाल बारको निर्वाचनमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनले कुनै पनि संगठनसँग सम्झौता नगरी एकल रुपमा आफ्नै उम्मेदवार दिनुपर्नेमा उनको जोड छ । नेपाली काँग्रेसको सुभेच्छुक संस्था भएपनि गठबन्धनमा उम्मेद्वार दिने कार्यमा पार्टीले हस्तक्षेप गर्न नहुने उनको भनाई थियो ।
विशेष अतिथिको रुपमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो अनुकुल अनुसार गठबन्धन गर्ने वा नगर्ने बारेमा निणर्य लिनुपर्नेमा जोड दिए । नेपाल बार एसोसियसन कानून व्यवसायीको छाता संस्था र जिम्मेवार संस्था भएकाले पनि डिएलएको उपस्थिति विशेष महत्व राख्ने भएकाले फरक धारसँग सहकार्य गरेर भएपनि नेतृत्व लिनुपर्नेमा जोड दिए ।
डिएलएका वरिष्ट उपाध्यक्ष जगन्नाथ ढकाल, महासचिव ज्ञानेन्द्र अधिकारीले डिएलएको तर्फबाट नेपाल बारमा उम्मेदवार पठाउँदा सक्षम परिचित व्यक्ति पठाउनुपर्नेमा जोड दिए ।
बरिष्ठ कानून व्यवसायी मुकुन्द अर्यालले नेपाल बारको गरिमा वढाउन डिएलएले उम्मेदवार छान्दा विचार पुर्याउनु पर्नेमा जोड दिए । साथै उनले नेपाल बारका अध्यक्षमाथि लगाइएको अपहेलनाको मुद्दाका बारेमा कानून व्यवसायीले आवाज उठाउनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले नेपाल बारको गरिमालाई बचाइराख्न कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने हुँदा उम्मेदवार छनौट गर्दा विवेक पुर्याउनुपर्नेमा जोड दिए । पछिल्लो समयन्याय सम्पादनमा जनताको विश्वास घट्दै गएको बेला न्यायालयले निश्पक्षतामा ध्यान दिनुपर्नेमा उनको जोड़थियो ।
सो अवसरमा नेपाल बारका उपाध्यक्ष वीरेन्द्र केसी, पदम बहादुर शाही, कमलामोहन वाग्ले, कानून व्यवसायीहरु रामचन्द्र त्रिपाठी, दयााराम गौतम, रोहितराज बाँस्तोला, उच्च बार एशोसियसनका कास्कीका अध्यक्ष बिष्णुशर्मा मरासिनी, बाबुराम अर्याल, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले आफ्ना भनाइ राखेका थिए।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन गण्डकी प्रदेशका अध्यक्ष भूमेश्वर शर्मा गौतमको अध्यक्षता सचिव प्रभाष पराजुलीको संचालनमा सम्पन्न भेलामा ड़िएलए कास्कीका उपाध्यक्ष कृष्ण कुमारी गुरूङले स्वागत मन्तव्य रहेको थियो ।
भेलामा ड़िएलए कास्कीका अध्यक्ष कमल पौडेल, तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले, युवा समिति अध्यक्ष आरसी गौतम, नवलपूर अध्यक्ष गणेश अधिकारी, पूर्व अध्यक्ष ड़िएलए कृष्ण तिमिल्सिना, बाग्लुंगका अध्यक्ष जयन्ता केसी, पूर्व अध्यक्ष कपिलमणि दाहाललगाएतले आ–आफ्नो भनाई राखेका थिए ।









