ड्रागन बोट रेस प्रतियोगिता २०८१ को उपाधि चिनियाँ टोलीलाई

पोखरा भ्यूज
पोखरा । दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को उपाधि माथि चिनियाँ टोलीले प्राप्त गरेका छन् । दुई सय र पाँच सय मिटर गरी दुई विधामा भएको प्रतिस्पर्धामा दुवै विधामा चिनियाँ टोलीले पहिलोदेखि तेस्रो स्थानसम्म रहँदै उपाधिमाथि प्राप्त गरेका हुन्।
प्रतियोगिता अन्तर्गत दुवै विधाको उपाधि चीनको डोङग्वान लाओ क्लबले हात पारेको छ। डोङग्वानले दुई सय मिटरतर्फको निर्धारित दूरी ४७ सेकेन्ड ७२० मिलिसेकेन्डमा पार गर्दै उपाधि हात पारेको हो। यसैगरी पाँच सय मिटरतर्फको दूरी दुई मिनेट चार सेकेन्ड ४७० मिलिसेकेन्डमा पार गर्दै डोङग्वानले दोहोरो उपाधि हात पारेको हो।

दुई सय मिटरतर्फ ४८ सेकेन्ड २२० मिलिसेकेन्डमा दूरी पार गर्दै चीनको युन्नान मिन्जु युनिभर्सिटी दोस्रो र चीनको लाइओ छङ युनिभसिटीले ५० सेकेन्ड ८३० मिलिसेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हात पारे।
पाँच सय मिटरतर्फ दुई मिनेट सात सेकेन्ड ३४० मिलिसेकेन्डमा दूरी पार गर्दै चीनको लाइओ छङ युनिभसिटी दोस्रो र दुई मिनेट आठ सेकेन्ड ४४० मिलिसेकेन्डमा दूरी पार गरेको युहान स्पोर्टस् युनिभर्सिटीले तेस्रो स्थान हात पार्यो।
प्रतियोगिताअन्तर्गत दुवै विधाका विजेताले पाँच हजार डलर (नेपाली करिब ६ लाख ७९ हजार), उपविजेताले दुई हजार डलर (नेपाली करिब २ लाख ७१ हजार) र तेस्रोले एक हजार दुई सय डलर (नेपाली करिब १ लाख ६३ हजार) नगदसँगै प्रमाण-पत्र र ट्रफी पुरस्कार पाउँदा सहभागि अन्य सम्पूर्ण टोलीले पाँच सय डलर (नेपाली करिब ६८ हजार) नगद पुरस्कार पाएका ड्रागन बोट एसोसिएसन गण्डकी प्रदेशका सचिव विवेक भुजेलले जानकारी दिए।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजना, नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा सम्पन्न प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिंगापुरको एक गरी २० टिमले प्रतिस्पर्धा गरेका थिए।
विजेता टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपालका लागि चीनका राजदूत छन्, सोङलगायतले पुरस्कार वितरण गरेका थिए। रेसमा बोटमा रहेका १२ जनामध्ये एकजनाले चाइनिज ड्रम बजाउने र सोही तालमा अन्य खेलाडीहरूले डुंगा खियाउँदै निर्धारित दूरी पूरा गरेका थिए।

