
स्याङ्जा । स्याङ्जाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाली सेनाको टोलीले विपद् व्यवस्थापन सम्वन्धी सिपमुलक तालिम दिएको छ । कक्षा ८ देखी १२ कक्षा सम्मका विद्यार्थीहरुलाई सिंह शार्दुल गुल्म आँधीखोला व्यारेकको टोलीले विपद्मा आपतकालिनबाट बच्ने र बचाउने तालिम प्रदान गरेको हो । गुल्मले अहिले हरेक पालिकाका दुई/दुई विद्यालयमा तालिम दिदै आएको सिंह शार्दुल गुल्म आँधीखोला व्यारेकका सह—सेनानी कल्याण थापाले जानकारी दिए ।
सह—सेनानी थापाको नेतृत्वमा १५ जना सैनिकले कक्षा सगै प्रयोगात्मकरुपले तालिम प्रदान गरेको बताइएको छ । विद्यार्थीहरुलाई भुकम्पबाट कसरी बच्ने, बचाउने, आगालागीबाट कसरी बच्ने र बचाउने, बाढी पहिरोबाट कसरी बच्ने र बचाउने भन्ने बिषयमा सेनाले तालिम दिएको क्याप्टेन थापाले बताए । पहिला थोरै विद्यालयमा पुगेर तालिम दिने गरेका थियौं क्याप्टेन थापाले भने,‘अहिले पालिकाकै सिफारीसमा दुई/दुई विद्यालयमा तालिम दिने गरेका छौं ।’ यसले ग्रामिण क्षेत्रमा हुने विपद्का घट्नाहरु न्यनिकरणमा सहज हुने विश्वास सेनाको छ उनले भने ।
११ पालिका रहेको स्याङ्जामा अहिलेसम्म ५ ओटा पालिकामा यो तालिम प्रदान गरिएको छ । ५ पालिकाका दुई/दुई विद्यालय गरी १० ओटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विपद् व्यवस्थापन सिपमुलक तालिम दिइएको नेपाली सेनाले जनाएको छ । कालीगण्डकी गाउँपालिका, आँधीखोला गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका दुई/दुई विद्यालय र गल्याङ, चापाकोट नगरपालिकाका दुई/दुई विद्यालयमा यो तालिम दिइएको छ । क्याप्टेन थापाका अनुसार अहिलेसम्म दुई हजार विद्यार्थीलाई यो तालिम दिएको छ ।
नेपाली सेनाले विद्यार्थीहरुलाई यस्ता खालाका तालिम प्रदान गरिनुले गाउँघरमा हुने प्राकृतिक विपद्बाट जोगिन सहजाता मिल्ने चापाकोट नगर प्रमुख देवबहादुर खाँण(इश्वर) ले बताए । हरेक बर्ष फरक—फरक विद्यालयमा यस्ताखालाका तालिम प्रदान गर्न नेपाली सेनालाई नगर प्रमुख खाँणले अनुरोध समेत गरे । व्यवहारीक ज्ञानले विद्यार्थीहरुलाई अझै विपद्मा सहयोग गर्न सघाउ पुग्ने विश्वास खाँणको थियो । सकरात्मक सोच, विद्यार्थीहरुमा उत्साह र यो कार्यक्रमको निरन्तरता हुनुपर्ने सहभागी विद्यार्थीहरुले बताएका छन् ।
प्राकृतिक विपद् बढ्न थालेपछि स्थानीयलाई सक्रियता बनाउन गण्डकी प्रदेश सरकारको सामाजिक तथा युवा मन्त्रालयले नेपाली सेनासगँ सहकार्य गरेर यो तालिम शुरु गरेको छ । स्थानीय पालिकाको सिफारीसका आधारमा प्रदेश मन्त्रालयले नेपाली सेनासगँ विपद् व्यवस्थापन सिपमुलक तालिममा सहकार्य गर्दै आएको छ सोही अनुरुप आँधीखोला व्यारेकले विद्यार्थीहरुलाई यस्तो तालिम प्रदान गर्दै आएको छ ।











