
पोखरा भ्यूज
पोखरा । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ पोखरा महानगर समितिले सामाजिक व्यक्तित्व मिलन थापालाई सम्मान गरेको छ ।
सबै महिला र बालबालिकाका लागि अधिकार, समानता र स–शक्तिकरण भन्ने यस बर्षको नारासहित सम्मान एवं प्रशिक्षण कार्यक्रम गरिएको नेपाल महिला संघ महानगर समितिका सभापति अम्बिका ढुङगानाले बताईन् ।
यो वर्षको नारामा आफ्नो ऐक्यबद्घता तथा समर्थन जनाउँदै महानगर समितिले सामाजिक क्षेत्रमा पुर्र्याएको योगदानको उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रुपमा सामाजिक व्यक्तित्व लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जे, नेपालका डिष्ट्रिक्ट गभर्नर रहनु भएकी थापालाई सम्मानित गरिएको हो ।
थापालाई प्रमुख अतिथि नेपाल महिला संघ कास्कीका संस्थापक सभापति शकुन्तला गुरुङ, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, महिला संघ महानगर समितिका सभापति अम्बिका ढुङगानालगाएतले लायन्स क्लब मार्फ़त समाज रूपान्तरणमा खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरेका हुन् ।
नेपाल महिला संघ महानगर समितिका सभापति अम्बिका ढुङगानाको अध्यक्षता महिला संघ कास्कीका संस्थापक अध्यक्ष शकुन्तला गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल र महिला संघ कास्कीका सभापति मिना पाण्डेलगाएतले महिलाको समानसहभागिता, नेतृत्वदायी भूमिकामा स्थापित गर्न समान अवसर दिलाउन पर्ने भनाई व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै महिला संघ कास्कीका संस्थापक सभापति शकुन्तला गुरुङले महिलाहरुको समानसहभागिता विना समाजको विकास हुन नसक्ने बताईन् । उनले राजनितीमा महिला सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै आरक्षणका नाममा सक्षम र अवसर प्राप्त गर्न सक्ने भन्दा नयाँ र अवसर प्राप्त गर्न नसक्नेहरुलाईअवसर दिनुपर्नेमा जोड दिएकी थिईन् ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त बरालले राजनीतिमा आउनका लागि महिला स्वयं नै सक्षम र नेतृत्व विकास सीप भएको हुनुपर्ने बताए । लहैलहैमा नेता भईदैन भन्दै बरालले आफ्नो व्यक्तित्व निखार्दै समाजमा सुगन्ध छर्ने महिलालाई राजनीतिक दलले आफैं खोज्ने बताए ।
नेपाल महिला संघ कास्कीका सभापति मीना पाण्डेले राज्यका हरेक तहमा नेतृत्व लिन महिला एकजुट हुनुपर्ने भनाई राख्दै नेपाली काँग्रेसले नै महिलाको हक अधिकारको सुनिश्चित गर्ने उनको भनाई थियो ।
कार्यक्रममा शान्ति ,न्याय र लोकतन्त्रका लागि समाबेशी महिला संजाल गण्डकी प्रदेशका अध्यक्ष अधिवक्ता सरिता तिम्सिना पगेनीले राजनीतिमा महिला सहभागिता सम्भावना र चुनौती विषयमा प्रशिक्षण दिएकी थिईन् ।
नेपाल महिला संघ पोखरा महानगर समितिका सचिव कल्पना थापाको संचालन रहेको कार्यक्रममा उपाध्यक्ष सुधा थापाले महिला अधिकारका बारेमा आफ्नो भनाई राखेकी थिईन् ।











