अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीले आठौं स्थापना दिवस बिबिध कार्यक्रम गरी मनाएको छ ।
पालिकाले आठौं स्थापना दिवसको अवसरमा विभिन्न १५ विधाका ब्यक्ति सम्मानसहित प्रभातफेरी सम्पन्न गरेको पालिकाका प्रवक्ता एवं वडा नं.७ का वडाध्यक्ष भरतमान गुरूङले जानकारी दिए ।

मंगलबार एक समारोहबीच स्थापना दिवसकै सन्दर्भमा विभिन्न १५ विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित भएका बिधाहरू क्रमशः सहकारी संस्था, शिक्षा, स्वास्थ्य कर्मचारी र स्वयंसेविका, कर्मचारीहरू: प्रशासनिक र प्राविधिक, उपभोक्ता समिति, जेष्ठ नागरिक, कला साहित्य, खेलाड़ी, कृषि तथा पशु ब्यवसाय, उत्कृष्ट करदाता, लघु उद्धमि समूह, पर्यटन क्षेत्र, पालिकाको लोगो ड़िजाईनर, सुरक्षाकर्मीलगाएतका ३८ जना रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले जानकारी दिए ।



उनिहरूलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, पूर्व जिबिस सभापति पुण्यप्रसाद पौडेल, गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी, पालिकाका संस्थापक अध्यक्ष युवराज कुँवरलगाएतले सम्मान गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसीको अध्यक्षता गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, पालिकाका निवर्तमान अध्यक्ष युवराज कुँवर, वडा नं.५ का वडाध्यक्ष जिवनाथ पौडेल पालिका स्तरीय विभिन्न दलका अध्यक्ष एवं प्रतिनिधिले आ-आफ्नो भनाई राखेका थिए ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख बलराम भुगाईको संचालनमा रहेको कार्यक्रममा पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेलले गाउँपालिका विविध गतिविधि बारे बोलेका थिए ।




