पोखरा । पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा चिनियाँ बजारमा पोखराको प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली पर्यटन व्यवसायीको टोली प्रवर्द्धन अभियान सहित चीन जाने भएको छ । चिनियाँ पर्यटक लक्षित गर्दै पर्यटन व्यवसायीले चीनका विभिन्न सहरमा एक सातासम्म प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नेछन् ।
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष तारानाथ पहारीले चिनियाँ सहरमा नेपालको प्रवर्द्धन गर्ने र आगामी दिनमा पोखरामा चिनियाँ पाहुनाको सङ्ख्या बढाउनका लागि व्यावसायीहरु प्रवर्द्धन अभियानमा सहभागी हुन लागेको बताए ।

प्रवर्द्धन अभियानमा जान थालेका व्यवसायीलाई चीनको सिचुआन एयरलाइन्सले पोखरादेखि चीनको छेन्दुसम्म चार्टर उडानमार्फत आउजाउ गराउने छ । चैत ५ गते सिचुआन एयरलाइन्सले पोखरा–छेन्दु चार्टर उडान गर्ने तयारी गरेको छ । चैत ५ गते छेन्दुबाट जहाज यात्रु लिएर पोखरा आउनेछ । पोखराबाट फर्किँदा पर्यटन व्यवसायी लिएर जहाज छेन्दु फर्कनेछ । नगर प्रमुख धनराज आचार्यको नेतृत्वमा छेन्दु पुग्ने पोखरेली टोलीले एक सातासम्म चीनको छेन्दु, लुझौं, चोङक्विङ लगायतका सहरमा बजारीकरण गर्नेछन् ।



पोखरा आएका चिनियाँहरू एक सातासम्म पोखरा, चितवन, काठमाडौँ सहरमा घुम्नेछन् । पोखरामा भेटेर उनीहरू स्वदेश फर्किनेछन् । करोडौँ जनसङ्ख्या भएका चिनिया सहरमा प्रवर्द्धनात्मक अभियान लिएर जाँदा आगामी दिनमा पोखरामा चिनियाँ पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

व्यवसायीको प्रवर्द्धनसँगै हिमालय एयरलाइन्सले आगामी चैत १८ गतेदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने तयारी गरेको छ । कम्पनीले सातामा एक पटक उडान गर्नेछ । कम्पनीका अनुसार चैत १८ गते बिहान काठमाडौँबाट जहाज चीनको ल्हासाका लागि उड्नेछ । ल्हासास्थित गोंगर विमानस्थलमा अवतरण भएको जहाज त्यही दिन ल्हासाबाट पोखराका लागि उडान भर्नेछ ।
पोखरा आएको रात्रिकालीन बिसानपछि जहाज भोलिपल्ट पोखराबाट ल्हासा उड्नेछ । त्यही दिन ल्हासाबाट काठमाडौँका लागि उडान भर्ने हिमालयले बताएको छ ।




